निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

समाचार शेयर गर्नुहोस्

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई  तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो ।

जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो  । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको थियो । उहाँले भन्नुभयो, “मतदानपूर्व गर्ने, मतदानका दिन गर्ने, मतदानपश्चात् मतपेटिका सिल गर्नेबारे र मतदानको दिनभन्दा अगाडि सर्वदलीय बैठक बोलाउने लगायत विषयमा जानकारी गराइएको छ ।”

तालिमपश्चात् आज कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइँदैछन् । निर्वाचनमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मङ्सिर १ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नेछन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो ।  निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाएको छ । बैतडीमा एक सय २९ मतदानस्थलमा दुई सय १० मतदान केन्द्र छन् । यसका साथै एउटा अस्थायी मतदानकेन्द्र पनि तोकिएको छ ।   प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।  यहाँ  ११ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाको दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको