चितवनमा निर्वाचनस्थलको व्यवस्थापन आजबाट सुूरु : ४६०केन्द्र र १६२ स्थल

समाचार शेयर गर्नुहोस्

भरतपुर । मंसिर ४ गते हुने निर्वाचनका लागि आज बुधबारबाट मतदानस्थलको व्यवस्थापन हुने भएको छ ।

निर्वाचनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरुले बुधबार नै निर्वाचन कार्यालय भरतपुरबाट निर्वाचन सामग्री बुझ्नेछन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरका अनुसार निर्वाचन सामग्री बुझेर कर्मचारी तथा सुरक्षाकर्मीहरु बुधबार नै निर्वाचनस्थलमा पुग्नेछन् ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार निर्वाचनस्थलमा हुने चुनावी चटारो आज बुधबारबाट सुरू हुनेछ, सामग्री बुझेर कर्मचारीहरु सके बुधबार नै निर्वाचनस्थलमा पुग्नेछन् । उनले भने, ‘निर्वाचन आयोगबाट सबै सामगी आइसक्यो, बुधबार मतदान अधिकृतसहितको टोलीलाई विवरण हेर्दै वितरण गर्नेछौँ ।’

चितवन जिल्लामा यसपटक ४६० वटा मतदान केन्द्र र १६२ मतदानस्थलहरु रहेका छन् । एउटा मतदानस्थलमा सुरक्षाकर्मीसहित १८ जना कर्मचारी खटिनेछन् । मतदान अधिकृतसहित १२ जना कर्मचारी र ६ जना सुरक्षाकर्मी हरेक मतदानस्थलमा रहनेछन् । चार जना स्वयंसेवकसमेत हुनेछन् ।

प्रतिनिधिसभाका तीनवटा र प्रदेशसभाका ६ वटा क्षेत्र रहेको चितवनमा महिला मतदाताको मत निर्णायक हुन सक्ने देखिएको छ । पुरूष मतदाताको तुलनामा महिला मतदाता बढी छन् ।

निर्वाचन कार्यालय भरतपुरका अनुसार चितवनमा २ लाख ९ हजार ३०९ जना महिला मतदाता रहेका छन् भने १ लाख ९९ हजार ३२ पुरूष मतदाता रहेका छन् । निर्वाचन कार्यालय भरतपुरका प्रमुख कार्कीका अनुसार चितवनमा यसपटकको संघीय निर्वाचनका लागि ४ लाख ८९ हजार ३४२ मतदाता रहेका छन् ।

चितवन क्षेत्र नं १ मा १ लाख ३९ हजार ८८७ मतदाता रहेका छन् । जसमा महिला मतदाता ७१ हजार ५०८ जना छन् । यस क्षेत्रमा मतदानस्थल ५६ र मतदान केन्द्र १५९ रहेको छ ।

चितवन क्षेत्र नं २ मा जम्मा मतदाताको संख्या १ लाख २४ हजार २१४ रहेको निर्वाचन कार्यालयका प्रमुख कार्की बताउँछन् । उनी भन्छन्, ‘यस क्षेत्रमा ६३ हजार ५८ महिला मतदाता रहेका छन् ।’ यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ मतदान केन्द्र रहेका छन् ।

चितवन क्षेत्र नं ३ मा १ लाख ४४ हजार २८३ मतदाता रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७४ हजार ७४३ रहेका छन् भने पुरूष मतदाता ६९ हजार ५३९ रहेका छन् । यस क्षेत्रमा मतदानस्थल ६३ र मतदान केन्द्र १६३ रहेका छन् ।

चितवन–१ मा खैरहनी, रत्ननगर र राप्ती नगरपालिका पर्छन् । चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना र भरतपुर महानगरका १० वटा वडा पर्दछन् । चितवन ३ मा माडी नगरपालिका र भरतपुर महानगरका १९ वडाहरु पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको