६३ केन्द्रमा महिला मतदान अधिकृत : कारागार र मालपोत कार्यालयमा तोकियो अस्थायी केन्द्र

समाचार शेयर गर्नुहोस्

आगामी प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा चितवनका ३ वटा क्षेत्रमा कुल ४ सय ६० वटा मतदान केन्द्र तोकिएका छन् । मतदानस्थल भने १ सय ६० रहेका छन् । ४ सय ६० मतदान केन्द्रमध्ये ६३ वटा केन्द्रको जिम्मेवारीमा महिला मतदान अधिकृत रहेका छन् ।

निर्वाचन क्षेत्र १ मा ३२ जना, २ मा १० जना र ३ मा २१ जना महिला मतदान अधिकृत रहेका छन्, जसमा केही नयाँ छन् भने केही अनुभवी छन् । सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २ वटा केन्द्रमा मात्र महिला अधिकृत रहेका छन् ।

‘पुरूवा वा महिलाभन्दा पनि उनीहरुको पद र क्षमतालाई स्थान दिइएको हो । सबै केन्द्रका अधिकृत सक्षम छन्, सोहीअनुसार मतदान अधिकृतको रुपमा सिफारिस र नियुक्तिसमेत भइसकेका छन्’, चितवनका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले भने ।

त्यस्तै, चितवनमा २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । भरतपुरस्थित मालपोत कार्यालय परिसर र भरतपुर कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको प्रमुख थापाले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय प्रमुख भीमसेन कार्कीले केन्द्र वा स्थल जे भने पनि एक–एकवटा मात्र संख्यामा रहने बताए

मालपोत कार्यालय परिसरमा रहने केन्द्रमा जिल्लामा रहेका सरकारी कर्मचारीले मत हाल्नेछन् । चुनावमा नखटिएकाहरुलाई उक्त स्थान दिइने भएको छ । जसको संख्या १ हजार ५ सय ४४ रहेको छ । त्यस्तै, भरतपुर कारागारमा रहेका कैदीबन्दीमध्ये १ सय १ जनाले मतदान गर्ने भएका छन् । जेलर कमल आचार्यका अनुसार ९७ पुरूष र ४ महिलाले मतदान गर्नेछन् । अस्थायी केन्द्रका मतदाताले प्रतिनिधिसभा समानुपातिकतर्फको मतपत्रमा मात्र मत दिन पाउने व्यवस्था छ ।

त्यस्तै, गत वैशाखमा भएको भरतपुर महानगरको स्थानीय चुनावको मतगणना भएको स्थानमै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने जानकारी दिए । त्यस ठाउँ अनुपयुक्त भएको भनी नयाँ ठाउँ खोजी गरिएकोमा अन्य ठाउँ पर्याप्त नभएकाले पुनः पुरानै ठाउँमा मतगणना गर्न लागिएको प्रमुख थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको