भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको निधारमा लागेको दाग मेट्न आएको बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उमेदवार बनेका लामिछानेले नारायणी नदीकिनार नारायणगढमा भएको चुनावी सभामा न्याय नपाउँदा चितवन आउने ठाउँ भएको बताए ।
सभामा उनले भने, ‘चितवनले अन्याय सहन्नँ, मलाई हिजो न्याय दिएको ठाउँ हो, चितवन मलाई राजनीतिमा ल्याउनको लागि प्रेरित गर्ने ठाउँ हो, चितवनले फेरि पनि न्याय दिनेछ ।’
लामिछानेले विदेशबाट फर्कने नेपालीलाई सम्मान गर्दै एअरपोर्टमै लिन जाने बताए । उनले भने, ‘नेपालमै केही गर्छु भनेर फर्किंदा ममाथि अपमान भयो, पीडा भयो । तपाईंहरु फर्कनुस् मैलेजस्तो अपमान भोग्न दिनेछैन । भिभिआइपी प्रमाणपत्र दिएर स्वागत गर्न म आफैँ आउनेछु ।’
लामिछानेले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने व्यवस्था आफूले बनाउने बताए । उनले अब नेपालमै उत्पादन भएको पोसाक लगाउने बताए । उनले भने, ‘म नेपालमै उत्पादन भएको पोसाक लगाउँछु, नेपाली नागरिकको उपचार जहाँ हुन्छ, त्यहीँ उपचार गर्छु । सरकारी अस्पतालमा नै मैले उपचार गर्छु ।’
सभामा रवि लामिछानेले नागरिकता विवाद’bout पनि जवाफ दिए । उनले भने, ‘म जिउँदो भएको प्रमाण पनि कुनै दिन यिनीहरुले माग्नेछन् । तँ जिउँदो छस् भन्ने कुरो प्रमाणित गर भन्न पनि यिनीहरु पछि पर्नेछैनन् ।’
उनले कसैलाई पनि पैसाको चलखेल नगर्न चुनौती दिए । उनले चितवन क्षेत्र नं–२ को विभिन्न ठाउँहरुको नाम लिँदै पैसाको चलखेल भएको बताए । उनले भने, ‘पैसा बढी भए मलाई दिनुहोस्, म चेपाङ गाउँमा विद्यालय बनाउँछु ।’
उनले पैसाको बिटो आफ्नो खल्तीमा राख्न र चलखेल नगर्न चुनौती दिए । उनले भने, ‘पैसाको बिटो बाँड्नुभयो भने म नाङ्गेझार पार्छु ।’
लामिछानेले यो देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गरेका छन् । उनले भ्रष्टाचारको अन्त्य गर्न पनि यसपटक घन्टीलाई मत दिन आग्रह गरे ।
लामिछानेको सभामा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएर घन्टीमा मतदान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा स्वतन्त्र पार्टीका चितवन क्षेत्र नं १ का उमेदवार हरि ढकाल, ३ का उमेदवार जीता बराल नवलपुर–१ का राजन गौतम, केन्द्रीय सदस्य विपीन आचार्यलगायतले मन्तव्य दिएका थिए ।