महिलाको जिम्मामा भरतपुर मावि मतदानस्थल

भरतपुर । नयाँ सरकारका लागि आइतबार देशभर एकसाथ मतदान हुँदैछ । चितवनमा पनि जिल्लाभरका १६२ मतदानस्थल र त्यसभित्रका ४६० मतदान केन्द्रमा एकसाथ मतदान हुँदैछ । त्यसका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी गरिरहेको छ । निर्वाचन कार्यालयले एउटा मतदान केन्द्रका लागि आठ जनाको दरले कर्मचारी खटाएको छ, जसमा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु खटिँदैछन् ।

तर, चितवनको भरतपुर–१० मा रहेको भरतपुर मावि मतदान केन्द्रमा भने सबै कर्मचारी महिलामात्रै छन् । चारवटा मनदान केन्द्र रहेको यो विद्यालयमा ३२ जना कर्मचारी छन्, ती सबै महिलामात्रै छन् । ‘हामी कर्मचारीमात्रै होइनौँ, सुरक्षाकर्मी पनि महिला नै छन्’, मतदान केन्द्र (ख)की अधिकृत विष्णुमाया विकेले भनिन्, ‘महिलामात्रै भएको ठाउँमा काम गर्दा छुट्टै अनुभव होलाजस्तो छ ।’

शुक्रबार सर्वदलीय बैठक बसेपछि निर्वाचनमा दल तथा जनप्रतिनिधिहरुले पनि सभ्य र भव्यरुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ‘त्यसले थप उत्साहित बनाएको छ’, उनी भन्छिन् । उनका अनुसार यो मतदानस्थलमा २३ जना सुरक्षाकर्मी खटिएका छन्, ती सबै महिला नै हुन् ।

यसअघिसम्म बालमन्दिर स्कुलमा हुँदै आएको मतदानस्थल यसपटक भरतपुर माविमा सारिएको हो । बालमन्दिरमा ठाउँ साँघुरो भएकोले यसपटक भरतपुर माविलाई मतदानस्थल बनाइएको सहायक मतदान अधिकृत मीना अर्यालले जानकारी दिइन् । ‘हामी जसरी पनि नमुना मतदान गराएर यो निर्वाचनलाई सफल बनाउने सोचमा छौँ’, उनी भन्छिन्, ‘नमुना मतदानस्थलमा नमुना काम गरेर देखाउँछौँ ।’

फरक–फरक कार्यालयका कर्मचारीको भेट भए पनि सबै महिलामात्रै हुँदा काम गर्नुको आनन्द नै छुट्टै भएको उनी बताउँछिन् । चारवटा मतदान केन्द्र रहेको भरतपुर मावि मतदानस्थलबाट आइतबार तीन हजार ४२९ जना मतदाताले मतदान गर्दैछन् । मतदानस्थलमा गर्नुपर्ने आवश्यक पूर्वतयारी पनि अन्तिम चरणमा पुगेको उनले बताइन् ।

जिल्लाका १६२ मतदानस्थलमध्ये भरतपुर माविको मतदानस्थललाई नमुना मतदानस्थल बनाइएको छ । यो मतदानस्थलमा कर्मचारीदेखि सुरक्षा निकायसम्म सबै जिम्मा महिलालाई मात्रै दिएर थप नमुना बनाउन खोजिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like