चितवनमा हरि ढकाल, रवि लामिछाने र विक्रम पाण्डेको अग्रता कायमै रहेकाे छ

समाचार शेयर गर्नुहोस्

चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले ६ हजार ३६७ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार २९५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै, क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ४ हजार ४१४ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले ३ हजार ८७८ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ५६० मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ ।

क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनले ३ हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार सात सय ६६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *