नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो ।
मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ हेर्दा कांग्रेसको ३२ सिटको हाराहारीमा आउने अनुमान छ । यो सबै गर्दा कांग्रेसको ८५ सिटको आसमास पुग्ने देखिन्छ ।
यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कुल ६३ सिट जितेको थियो । त्यसबखत कांग्रेस संसद्मा दोस्रो दलको हैसियतमा रहन पुग्दा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो ।
त्यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा कांग्रेसले तत्कालीन ६०१ सांसदमध्येमा २ सय १३ सिटमा जित निकाल्दै पहिलो दल बनेको थियो । २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेसहितका वाम दलबीच चुनावी तालमेल हुँदा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक परिदृश्यअनुसार कांग्रेसले जनताको अपेक्षा, असन्तुष्टि, सहमति र विमति केलाएर अघि बढ्नुपर्ने बताए ।
‘पछिल्लो राजनीतिक परिदृश्यअनुसार कांग्रेसले अब जनताको अपेक्षा र असन्तुष्टि केमा छ ?, सहमति र विमति कहाँ छ भन्ने विषयलाई केलाउँदै अघि बढ्नुपर्छ, जनताको भावनाको गहिरो विश्लेषण गर्दै कांग्रेस अघि बढ्नैपर्छ, यो नयाँ जनादशेको सन्देश हो,’ कांग्रेस महामन्त्री शर्माले राजधानीसँग भने ।
यसपटकको निर्वाचनमा भने कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको थियो । कांग्रेसले यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ९१ जनालाई आफ्नो दलको तर्फबाट उम्मेदवार बनाएको थियो ।
जारी मतगणनाको परिणामअनुसार एमाले संसद्मा दोस्रो दलको हैसियतमा रहने पक्कापक्की छ । आइतबार रातिसम्म एमालेले प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको छ । समानुपातिकतर्फ एमालेले लगभग ३४ सिट पाउने देखिएको छ ।
यसैगरी, माओवादी केन्द्र संसद्मा तेस्रो दल हुँदै छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादी केन्द्र संसद्मा सोही हैसियतमा थियो । मंगलबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १७ सिट जितेको छ । भने समानुपातिकमा १४ सिटको हाराहारीमा पाउने देखिन्छ ।
यसपटक माधव नेपालले नेतृत्व गरेको दल एकीकृत समाजवादीले संसद्मा प्रत्यक्षतर्फ १० सिटमा जित हात पारिसकेको छ भने समानुपातिकमा सो दल कुन हैसियतमा रहन्छ भन्ने तय हुन बाँकी छ ।
यसैगरी, केही महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत प्रत्यक्षतर्फ प्रतिनिधि सभामा सात सिटमा जित निकालिसकेको छ । सो दलले समानुपातिकतर्फ १४ सिटको आसपासमा पाउने सम्भावना छयस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सात सिटमा नै प्रत्यक्षतर्फ जित हात पारिसकेको छ भने समानुपातिकमा पनि सोही अंकबराबरको सिट पाउने देखिन्छ ।