भत्किएको दस वर्षमा पनि बनेन बेतरी खोलाको पुल

समाचार शेयर गर्नुहोस्

भरतपुर–२७ को तेलौलीबाट धरमपुर, बुद्धनगर जाने बेतरी खोलाको पुल भत्किएको दस वर्ष भैसक्दा पनि अझै बनेको छैन । सो पुल २०६९ सालमा आएको बाढीले भत्काएको थियो । विसं २०७१ सालको बाढीले थप क्षतिग्रस्त बनाएपछि सामान्य आवतजावतमा समेत सो क्षेत्रका बासिन्दाले समस्या झेलिरहेका छन् ।

पुल १० वर्षसम्म नबन्दा मेघौली, तेलौलीका बासिन्दा खोला तरेर घन्टौँ हिँड्दै धरमपुर, बुद्धनगर, शुक्रनगर जानुपर्ने बाध्यता छ । पुल निर्माण नहुँदा स्कुल बस, एम्बुलेन्सलगायतका साधन सहजरुपमा पुग्न नसकेको धरमपुरका स्थानीय बासिन्दा जीतबहादुर मल्ल बताउँछन् । हिउँदमा खोला तर्न सक्ने भए पनि वर्षायाममा समस्या छ ।

‘हरेक वर्ष वडास्तरीय बजेटबाट खोलामा ह्युमपाइप राखेर सामान्य मर्मत गरिन्छ, तर फेरि बाढीले भत्काउँछ र उस्तै हुन्छ’, मल्लले भने । पुल नहुँदा धरमपुरका २०० हाराहारीमा रहेका घरधुरीले अत्यन्तै कष्ट बेहोर्नु परेको उनले बताए । अहिलेसम्म तीन÷चारपटक डिपिआर भयो तर अझै निर्माण भएको छैन । सामान्य मर्मत गरिन्छ तर फेरि बाढीले भत्काउँछ र उस्तै हुन्छ’, उनले भने ।

पुल निर्माण गरिदिने आश्वासनसहित कयौँ नेताले भोट बैंकको रुपमा प्रयोग गरे, पुल निर्माणका लागि भन्दै अनुगमन गर्दै आएका बजेटलाई भत्ताको रुपमा प्रयोग गर्दै समस्या समाधानका रुपमा नभएर फोटो खिचाउने स्थानको रुपमा प्रयोग गरियो । दसौँपटक पुल निर्माण उपभोक्ता समिति गठन भए तर जस्ताको तस्तै रहेको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्रका बाटाघाटा निर्माण राज्यका प्राथमिकतामा पर्नुपर्ने बताउँछन्, स्थानीय पर्यटन व्यवसायी तथा चित्तल लजका सञ्चालक विष्णु भूषाल । पुल नहुँदा बर्खाको बेलामा विद्यार्थी स्कुल जान पनि समस्या भएकाले स्कुल बस नजाँदा त्यहाँ रहेका २ वटा विद्यालय तथा मन्टेश्वरीका विद्यार्थीहरुलाई थप समस्या भएको उनले बताए ।

उनले भने, ‘खोलाले पुल भत्काएको यतिका समय भइसक्यो, पुल नहुँदा खोलापारिको गाउँ र वारिको गाउँको सम्पर्क विच्छेद भएको छ ।’ ग्रामीण जीवन आफैँमा कष्टकर त छँदैछ, अझ यस्ता समस्याहरुमा जिम्मेवार निकायहरु उदासीन बनिदिँदा स्थानीयवासीलाई थप दुःख हुने उनको भनाइ थियो ।

भरतपुर–२७ का पूर्ववडाध्यक्ष गोविन्द तामाङले ठूला योजनाहरु निर्माणका लागि केन्द्रकै मुख ताक्ने अवस्था रहेको बताए । हरेक वर्ष वडास्तरीय बजेटबाट खोलामा ह्युमपाइप राखेर अस्थायी पुल बनाउने गरे पनि खोलाको बाढीले बगाउने गरेको उनले बताए । देश संघीयतामा गैसक्दा पनि केन्द्रकै मुख ताक्नुपर्ने उनको गुनासो छ ।

भरतपुर–२७ का वडाध्यक्ष रामु भण्डारीले अघिल्लो साल पुलको डिपिआर, सोयल टेष्ट भइसकेको र यसै आवमा साढे ४७ लाख बजेट पुल निर्माणका लागि विनियोजन भएको भनिए पनि नपरेको र वडाबाट भरतपुर महानगरपालिकामा लिखित जानकारी गराई छिटोभन्दा छिटो पुल निर्माणका लागि माग राखेको वताए ।

बेतरी खोलाको पुल आव २०७६÷७७ मै केन्द्रीय आयोजनामा परेको तर सडक विभागअन्तर्गतको पुल विभागले कोरोनालगायतका विभिन्न बहानामा ढिलासुस्ती गरेर नबनाएको बताउँछन्, निवर्तमान बागमती प्रदेशसभा सदस्य कृष्ण भूर्तेल । उक्त पुल निर्माण गर्न करिब २ करोडको लागत लाग्ने भएको हुँदा स्थानीय निकाय र प्रदेश सरकारको बजेटबाट सम्भावना नदेखिएकोले वडा, महानगर हुँदै केन्द्रीय बजेटका लागि सडक विभागसँग अनुरोध गरिएको उनले वताए ।

चितवन क्षेत्र नं ३ का नवनिर्वाचित सांसद् विक्रम पाण्डेले बेतरी खोलाको पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको