दुई दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । यी सहित साउनयता चितवन निकुञ्जमा पाँच गैंडा मृत फेला परेका छन् । चितवन निकुञ्जमा पाइने ठूलो एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।
चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बिहीबार बिहान निकुञ्जको पश्चिम सेक्टरको लामिचौरपोष्ट अन्तर्गत गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा १५ वर्षको पोथी गैंडा मृत फेला परेको छ । नियमित गस्तीको क्रममा निकुञ्जको टोलीले गैंडा भेटेको थियो । गैंडाको खाग र खुर सुरक्षित छ । आपसमा जुधेर गैंडा मरेको तिवारीले बताए
त्यसैगरि, बुधबार पश्चिम सेक्टरकै अमलटारी कुजौली पोष्ट अन्तर्गत नारायणी नदी किनारमा छ महिना जतिको भाले बच्चा गैंडा मृत भेटिएको छ । खाग पनि नपलाएको उक्त गैंडालाई बाघले आक्रमण गरेर मारेको तिवारीले बताए ।
पछिल्ला वर्षहरूमा जुधेर र बाघ आक्रमणमा परेर गैंडा मर्ने क्रम बढेको छ ।