काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ ।
उनका कानुन व्यवसायीले गत २९ मंसिरमा दर्ता गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । सन्दीपका कानुन व्यवसायीले दिएको निवेदनमा किशोरीको उमेर १८ वर्षमाथि रहेको दाबी गरिएको छ ।
थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरूले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए । तर, अदालतले फैसला नहुन्जेल पुर्पक्षका लागि सन्दीपलाई कारागार पठाएका थियो ।
पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिति २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाइसकेको छ । अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिति त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ ।गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीपलाई प्रहरीले गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो । सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।