जारी नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमल्सेनाले लिग छोडेको बताएका छन् ।सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै तिमल्सेनाले लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेको र फिक्सिङको आशंकामा लिग छाडेको उल्लेख गरेका छन् ।
प्रतियोगिताको घोषणादेखि नै विवादमा परेको यस लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको थियो । जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ । लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन् ।
कमेन्टेटर तिमल्सेनाले जारी टी-२० लिग फिक्सरको हातमा गएको दाबी गरेका छन् ।
उनले भनेका छन्- ‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ । आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन । तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ ।’
उनले आफुले यतिकै यस्तो कुरा नगरेको बताउदै आफुले सबै बल नियालेर हेरेपछि यस्तो भनेको बताएका छन् । उनले भनेका छन्- ‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले । त्यति लामो नो बल व्यवासायिक क्रिकेटरले गर्नै सक्दैन ।’
उनले फिक्सिङको आशंका गर्दै लिगका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी गरेको पनि जानकारी दिएका छन् ।