नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विगत दुई महिनादेखि बलात्कार आरोपमा जेलमा रहेर मुद्दा लडिरहेका छन्। उनको मुद्दाको किनारा लागेको छैन।
उनका ’boutमा विदेशी खेलाडीहरूले उनका वकिल सरोजकृष्ण घिमिरेसँग नियमित जानकारी मागिरहेका हुन्छन्। तर नेपाली राष्ट्रिय टिमका कुनै पनि क्रिकेटरले चासो राखेका थिएनन्।
तर बुधबार राष्ट्रिय टिमका क्रिकेटर शरद भेषवाकर र आरिफ शेखले बलात्कार आरोपमा जेलमा रहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन्।
नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ।
उनी मानसिक रूपमा कमजोर बनेको भन्दै मनोविदको परामर्शसमेत दिन सुरु गरिएको छ। यहीबीच उनका क्रिकेट समर्थकहरूले ‘जस्टिस फर सन्दीप लामिछाने’ ह्यासट्याग अभियान नै सञ्चालन गरेका छन्।
जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्।
यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो। अब भाेलि (बिहीबार) सुनुवाइ हुने तालिका रहेको छ।