वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा जानकारी बिना लाेडसेडिङ

समाचार शेयर गर्नुहोस्

अघोषित लोडसेडिङले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग संकटमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले जानकारीबिनै पटकपटक विद्युत् कटौती गरेपछि उद्योग सञ्चालनमा समस्या भएको उद्योगीको गुनासो छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष माधव राजपालले दैनिक अघोषित रूपमा ४ देखि ८ घण्टासम्म विद्युत् कटौती भइरहेको बताए । ‘तालिका बनाएर कटौती गरिएको भए हामी त्यसैअनुसार उद्योग सञ्चालन गर्थ्यौं,’ उनले भने । फलाम उद्योग र बोइलर मेसिन प्रयोग गर्ने उद्योगमा विद्युत् कटौती हुँदा बढी मर्का परेको उनले बताए । ‘फलाम गलाउँदै गर्दा फ्याट्ट बत्ती जान्छ, सेलाई सकेपछि फेरि तताएर गलाउन धेरै विद्युत् खपत हुन्छ,’ उनले भने, ‘यसरी उत्पादन लागत बढ्नुका साथै कच्चा पदार्थ पनि खेर जाने गर्छ ।’

 

संघका द्वितीय उपाध्यक्ष हरि गौतमले उद्योग व्यवस्थापनले ४० देखि ४५ रुपैयाँ प्रतियुनिट लागतमा जेनेरेटर चलाउन सम्भव नभएको उनले बताए । प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अमोद यादवले जलविद्युत् आयोजनाको उत्पादन उल्लेखनीय रूपमा घटेकाले भारतीय विद्युत्माथिको निर्भरता बढेको बताए ।

उनले वीरगन्ज–पथलैया औद्योगिक करिडोरको हालको माग २ सय २० मेगावाट रहेको र रक्सौल–परवानीपुर १ सय ३२ केभी प्रसारण लाइनबाट ३० देखि ४० मेगावाट मात्र विद्युत् उपलब्ध भइरहेको जानकारी दिए । बाराको पिलुवास्थित सब स्टेसनबाट पनि विद्युत् आपूर्ति नभइरहेकाले लोडसेडिङ भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको