काठमाण्डाैँ,
देशकै ठूलोमध्ये ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरेर मर्मत सुरु गरिएको छ ।
हाल यो आयोजनाबाट उत्पादन क्षमताको आधाभन्दा कम औषतमा २७ देखि ३० मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको थियो ।नियमित मर्मतसम्भार भनिए पनि यसको बायाँ भित्तामा समस्या देखिएकाले विद्युत् उत्पादन बन्द गरेर मर्मत थालिएको हो । गत वर्ष नै मर्मत गर्नुपर्ने भनिए पनि अन्य आयोजनामा बाढीपहिरोको समस्याका कारण यसको मर्मत समय १ वर्षपछि धकेलिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ
जलविद्युत् केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार आयोजनाको लेफ्ट ब्यांक (बायाँ भित्ता) र विद्युत्गृहको ओभरहेलिङ (बृहत् मर्मतसम्भार) एकसाथ गरिँदैछ । मर्मतका लागि मंगलबार अपरान्ह ४ बजेबाट विद्युत् उत्पादन बन्द गरेर बाँधका ३ वटै ढोका खोलेर विस्तारै फ्लसिङ (पानीसहितको बालुवा बगाउने काम) गरिएको छ । ‘हामीले २१ दिनको सर्टडाउन समय लिएका छौं । ३ साताभित्र आयोजनाको सवै मर्मत सक्नुपर्छ’ उनले भने ।
लेफ्ट ब्यांक (बायाँ क्षेत्र) मा बाँधनजिकै साढे ५ मिटर उचाईको करिब २ सय मिटर आरसीसी पर्खाल निर्माण गरिनेछ ।
त्यसपछि आवश्यक अनुसार ग्याबिन लगाइने केन्द्रप्रमुख बस्नेतले बताए । ‘यो ठाउँमा यसअघि पर्खालमात्रै लगाइएको थियो । अघिल्लो वर्ष (२०७८) असारमा बाढीले भत्काएपछि अहिले आरसीसी पर्खाल नै लगाउन लागेका हौं’ उनले भने । उनका अनुसार यसका लागि केसी–अधिकारी जेभीले भ्याटसहित १२ करोड ३३ लाखमा ठेक्का सम्झौता गरेको छ ।जलाशयमा पानीको बहाबले लेफ्ट ब्याङ्क भत्काएपछि २०७४ मा ग्याबिन पर्खाल लगाएको थियो ।
उनका अनुसार युनिट २ को ओभरहेलिङ (बृहत मर्मत) कार्य हुनेछ । यसमा टर्बाइन र रनर खोलेर मर्मत हुनेछ । यसका लागि नेपाल विद्युत् प्राधिकरणका ५ देखि ६ जना इन्जिनियर प्राधिकरण मातहातका आउने र बाँकी १५ जना मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रकै इन्जिनियर प्राविधिकले मर्मत गर्नेछ । ३५/३५ मेगावाटको २ वटा टर्बाइन रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको युनिट १ भने गतवर्ष नै मर्मत गरिएको थियो