काठमाडौं ,
अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्।
यस्तै अमेरिकी भौगर्भिक सर्वेक्षण का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६।५ म्याग्निच्युडको थियो।
भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो।उक्त भुइँचालोले अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको उनको भनाई छ।
त्यस्तै, पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा ९ जनाको मृत्यु भएको खैबुर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्। खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए।
भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भुइँचालोको ठूलो कम्पन महसुस गरिएको थियो।
सो भुइँचालोको धक्कापछि स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुला स्थलमा निस्केका थिए। फेरि भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताए।
यो भुइँचालोको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो। यसरी कम गहिराइबाट उत्पन्न हुने तरंगलाई जमिनको सतहसम्म आइपुग्न कम समय लाग्ने हुँदा त्यसले ल्याउने कम्पन निकै ठूलो हुन्छ।
अफगानिस्तानमा भने सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरियो। यस्तो तरंगलाई सतहसम्म आइपुग्न धेरै समय लाग्छ। त्यसैले कम्पनको शक्ति कम हुन्छ।यति हुँदाहुँदै दिल्ली लगायत ठाउँमा ठूलै झट्का महसुस गरिएको भारतीय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।
गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६।१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।
नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली देशहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो गएको थियो।