काठमाण्डाैँ,
साताको दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज साेमवार १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ।
हिजो आइतबार पनि नेप्से २० अंकले घटेर बन्द भएको थियो। सरकार विस्तार भएर अर्थ मन्त्रालयले अभिभावक पाएको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक घटेको थियो।
आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। दुई सय ६० वटा कम्पनीका २८ लाख २९ हजार कित्ता सेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको तीन करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भयो।
आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरको सेयर पाँच प्रतिशत तथा मायाखोला जलविद्युत र जालपा लघुवित्तको सेयर साढे चार प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे हुँदा पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ।