विदेशबाट ल्याइने शवमाथी बिमाकाे नाममा ठगी गर्ने ६ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले विदेश रोजगारीका क्रममा मृत्यु भएकाे मान्छेकाे नाममा रकम असुलेर ठगीमा संलग्न गिराेहका सदस्यलाइ पक्राउ गरेकाे छ। प्रहरी टोलीले शुक्रबार काठमाडौंको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई पक्राउ गरेकाे हाे।

वैदेशिक रोजगारका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बिमाबापत पाउने बिमा रकम मृतकका आफन्तलाई दिलाइदिने प्रलोभन दिएर उक्त गिरोहले ठगी गर्दै आएको प्रारम्भिक छानबिनबाट देखिएको कार्यालय प्रमुख एसएसपी मनोज केसीले बताए।

वैदेशिक रोजगारमा रहँदा कार्यस्थलमा मृत्यु भएका परिवारले १४ लाख, नेपालमा छुट्टी आउँदा मरे १३ लाख बिमाबापतको क्षतिपूर्ति र वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख रुपैयाँ पाउने व्यवस्था रहेकाले ठगी धन्धामा संलग्न गिरोहले परिवारलाई प्रलोभन दिएर ठग्दै आएको देखिएको केसीको भनाइ छ।

पक्राउ परेकाको साथबाट विभिन्न मृतक व्यक्तिको नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बिमा कम्पनीको लेटर प्याडलगायत महत्त्वपूर्ण कागजात बरामद भएको छ। उनीहरुमाथि ठगी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसएसपी केसीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको