काठमाण्डाैँ,
बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ ।सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई फोन गरेर यस्तो धम्की दिएका हुन्। अभियुक्तले आफ्नो नाम ‘रकी भाइ’ बताएको प्रहरीले जनाएको छ ।
फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने धम्की दिएको प्रहरीको भनाइ छ।
सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको छ। यस विषयमा जोधपुर निवासी ढाकद्रमलाई प्रहरीले पक्राउ गरेको छ। उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । जसमा लेखिएको छ- ‘कि सलमान खान तिम्रो अर्को नम्बर हो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिनेछौ । अर्को नम्बर तिम्रो हो। जोधपुर आउनुहोस्।’
बारम्बार ज्यान मार्ने धम्की आउन थालेपछि सलमानले नयाँ बुलेटप्रुफ कार किनेका थिए । जुन निसान कम्पनीको पेट्रोल ‘एसयूभी’ कार हो।