काठमाण्डाैँ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफलमा प्रधानन्यायधीश निर्णयबारे छिटै निर्णय गरिने बताएका छन्।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै अध्यक्ष गोपालकृष्ण घिमिरेले यदि प्रधानन्यायाधीश हप्ता दश दिनमा नियुक्त नभए आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले लाेकतन्त्र र संविधानकाे रक्षा एवं न्याय प्रणालिमा सुधारका लागी बारले खेलेकाे भुमिकाकाे प्रशंसा गरे।