काठमाडाैँ, २७ बैशाख
बुधबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरणबारे सरकारले सांसदलाई हालसम्म गरेको काम कारबाहीबारे जानकारी गराउन माग गरेका छन्।
लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारको विषयमा मात्र नभई ठगी, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी जघन्य अपराध भएको बताएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको चर्चा परिचर्चा भइरहेको छ यो केबल आर्थिक भ्रष्टाचार वा अङ्कसँग जोडिएको मात्र भ्रष्टाचार हैन । यो ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी अर्थात यो एक प्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनै पनि मानिसलाई छुट दिने कल्पना त कुरै नगरौँ यसलाई कुनै पनि बहानामा कमजोर बनाउने, यसबाट कसैलाई उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’ उनले भने।