नेपाल-चिन सम्बन्ध

समाचार शेयर गर्नुहोस्

नेपाल–चीन सम्बन्ध वस्तुतः इतिहास प्रारम्भभन्दा अघिदेखिको हो भन्ने लेख्दा गफ हुँदैन होला। साथै यो सृष्टि रहँदासम्म पनि झर्झराउँदो भएर रहनेछ भन्ने सुदूर भविष्यवाणी गर्दा पनि गाल पर्दैन होला। स्रङ चङ गम्पो, फाहियानहरू नेपाल आउँदा भृकुटी, अरनिकोहरू तिब्बत–चीन जाँदाका पैदल यात्रा कति खतरापूर्ण र रोचक थिए होलान्। त्यसको विसद् वर्णन आज सम्भव छ जस्तो लाग्दैन।

चीनका बादशाहलाई सौगातसहित भेट्न जाने नेपालका र चीनबाट आउने सद्भावनादूत पनि बेपत्ता हुने, लुटिने, मारिनेजस्ता घटना भएका छन्। तर आज नेपाल–चीन आवतजावत केही घण्टामै हुने युगमा हामी छौं। उदाहरणका लागि चीनका स्टेट काउन्सिल सदस्य तथा विदेशीमन्त्री वाङ यी यही भदौ २२ भदौ नेपाल आउनु भो र २४ गते स्वदेश फर्कनु भो।

मलाई लाग्छ– यो भ्रमण चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको पूर्वतयारी हो। राष्ट्रपति सीले निकट भविष्यमै भारत भ्रमण गर्ने कार्यक्रम छ। त्यही मेलोमा नेपाल पनि पस्ने हो कि भन्ने मस्यौदा योजना भएको अनुमान गरिएको छ।

आजको नेपाल–चीन सम्बन्धबारे सोच्दा पूर्वघटनाहरू याद गरे, दुई देशको मित्रता झाँगिन सहयोग पुग्नेछ।

नेपाल–चीन अत्यन्त घनिष्ठ मित्र राष्ट्र हुन्। नेपालका तर्फबाट चीनको उच्चस्तरीय भ्रमण धेरैपल्ट भइसकेको छ। परन्तु चीनका तर्फबाट त्यस्ता उच्चस्तरीय भ्रमण नभएको लामो समय भइसक्यो। चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सी चिनफिङ नेपाल भ्रमणमा आउने उत्सुकतापूर्ण प्रतीक्षा गरिएको साँच्चै वर्षांै भइसक्यो। तर अहिलेसम्म अनुकूल भएको थिएन। यसपल्ट हुन्छ कि भन्ने परिस्थिति देखिएको छ। यही आउँदो अक्टोबरमा राष्ट्रपति सी भारत आउने कार्यक्रम छ। यही क्रममा नेपालको पनि भ्रमण गर्न अत्यन्त अनुकूल हुने सम्भावना छ। त्यसैका लागि चिनियाँ विदेश मन्त्री वाङ अध्ययनार्थ नेपाल आउनुभएको हुन सक्छ।

लिपुलेकको प्रश्न उठ्नुपर्छ  
मेरो अर्को तर्क हो– चीनले नेपाललाई गर्ने सहयोगको आकार र चीनको पूर्वव्यवहार। ६३ वर्षअघि २०१३ सालमै चीनले ६ करोड भारु(भारतीय रुपैयाँ) सहयोग गरेको थियो। जबकि त्यतिबेला अमेरिकी डलरको सटही दर नेरु(नेपाली रुपैयाँ) ५–६ रुपियाँ यस्तै थियो। जुन आज बढेर १ अमेरिकी डलरको सटही दर नेरु ११५÷११६ रुपियाँ पुगेको छ। यस्तो मौद्रिक अवस्थामा चीनका विदेशमन्त्री वाङको भ्रमणक्रममा भएको ३०/३५ करोड रुपियाँ बराबरको चिनियाँ सहयोग मित्रताको एउटा संकेत मात्र हो जस्तो लाग्छ।

राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमणका बेला आँखालाग्दो सहयोग रकमको प्रतिबद्धता सार्वजनिक गरिने पूर्वसन्ध्यामा वाङ भ्रमणमा खाली हात नगरेको मात्र हो भन्ने विश्लेषण छ। पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले त्यति थोरै रकम त्यत्रो मुलुकबाट किन हात थापेको भनेर ठाडै भन्नुभयो। यो गैरकूटनीतिक भयो कि जस्तो लाग्छ। सीको भ्रमणको अवसरमा लिपुलेक मुद्दाको हल खोज्नेतर्फ नेपाल सशक्त रूपमा उभिनुपर्छ।

सिंगो लिम्पियाधुरा महाकाली पूर्व पर्छ। महाकाली पूर्व सम्पूर्ण भूभाग नेपालमा पर्छ। सन् १८१६ को सुगौली सन्धिअनुसार नेपाल–चीन सीमा सम्झौता हुँदा भारतको उपस्थिति थिएन। त्यसैले त्रिदेशीय बिन्दु नटुंगिएकाले सीमास्तम्भ १ नम्बरबाट राखिएको हो। शून्य नम्बरको सीमास्तम्भ राख्न बाँकी नै छ। यो कुरा सकारात्मक रूपमा सशक्ततासाथ प्रस्तुत गर्नुपर्छ।

नेपाल–चीन अत्यन्त घनिष्ठ मित्र राष्ट्र हुन्। नेपालका तर्फबाट चीनको उच्चस्तरीय भ्रमण धेरैपल्ट भइसकेको छ। तर चीनका तर्फबाट त्यस्ता उच्चस्तरीय भ्रमण नभएको लामो समय भइसक्यो।

नेपाल–चीन सहयोगको ढोका
चीन–नेपाल सहयोगको प्रकृति, प्रवृत्ति र परिवेश समीक्षा गर्दा यही भदौ २३ गते भएको द्विपक्षीय सहयोग–सम्झौता सांकेतिक मात्र हो जस्तो लाग्छ। नेपाल–चीन सहयोगको स्वभाव थाहा पाउन म ६३ वर्ष अघि र ६० वर्ष अघिका दुई घटना प्रस्तुत गर्ने अनुमति चाहन्छु। २०१६ सालमा विश्वेश्वरप्रसाद कोइराला नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ चीन सरकारको निमन्त्रणामा २०१६ फागुन २७ देखि चैत ९ गतेसम्म चीन भ्रमणमा जानुभएको थियो। त्यही बेला चीनले नेपाललाई १० करोड भारु सहयोग गर्ने सम्झौता गरेको थियो र सहयोग निःसर्त थियो। त्यसअघि टंकप्रसाद आचार्य प्रधानमन्त्री भएका बेला २०१३ असोज २२ मा भएको सम्झौताबमोजिम भारु ४ करोडका वस्तुहरू पनि नेपाल ल्याउन सकिएको थिएन।

उक्त भारु १० करोडको सहयोग सम्झौताका अवसरमा सो कुरा पनि उल्लेख गरिएको थियो। नेपाल–चीनबीच २०१३ मा भएको आर्थिक सहायता–सम्झौताअन्तर्गत नेपालले पाउन बाँकी भारु ४ करोड नेपाल सरकारले अहिलेसम्म प्रयोगमा ल्याएको छैन। त्यो यो सहायता रकममा गाभिएको छैन। नेपाल–चीनबीच २०१२ साउन १७ गते मात्र औपचारिक दौत्य सम्बन्ध कायम भएको हो। नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य चीन सरकारको निमन्त्रणामा चीन भ्रमणका लागि २०१३ असोज ६ गते पेकिङ पुग्नुभएको थियो।

सहायता कार्यान्वयन हुन सकेन
त्यसबेला नेपालले बाह्य सहायता अत्यन्त कम प्राप्त गथ्र्यो भने सहयोगी मुलुक साह्रै कम थिए। प्रधानमन्त्री टंकप्रसादसँग हङकङमा चिनियाँ सहायताबारे जिज्ञासा राख्दा भन्नुभएको थियो– ‘चीनले सहायता दिने प्रस्ताव राख्यो भने अवश्य अस्वीकार गरिने छैन।’ वैदेशिक सहायताबारे प्रधानमन्त्री आचार्यले त्यतिबेलै भन्नुभएको थियो– ‘हाल नेपाल भारतबाट बर्सेनि २ करोड डलर बराबर सहायता पाइरहेका छौं भने अमेरिकाबाट २० लाख डलर।’ उहाँले जानकारी पनि गराउनुभएको थियो– ‘त्यसमा कुनै किसिमको अंकुश छैन।’ यसरी नेपाल–चीन सम्बन्ध एवं सहयोगको चरण बढ्दै आज यहाँसम्म आइपुगेको छ। मित्रता झाँगिने क्रममा चीनका प्रधानमन्त्री चाउएन लाइले नेपाल सरकारको निमन्त्रणामा २०१३ माघ १२ बाट नेपालको मैत्रीपूर्ण भ्रमण गर्नुभयो।

नेपालले चीनबाट प्राप्त गर्ने गरेको सहयोगको संयुक्त प्रजातन्त्र पार्टीका नेता डा.के.आई.सिंहले अप्रजातान्त्रिक तथा खुला षड्यन्त्र भनी विरोध गर्नुभयो। उहाँले भन्नुभएको थियो– ‘योजनाको युग हो जसमा जनमतबिना गरेको जम्मै कार्य स्वतः अवैधानिक हुन जान्छन्।’ त्यो युगमा चीन धेरै टाढा थियो। चीनबाट ४ वर्षसम्म पनि भारु ४ करोड मूल्य बराबरका सहायता वस्तु आउन सकेका थिएनन्। नेपालमा प्रथम महानिर्वाचन सम्पन्न हुन सकेन। १० महिना राजदरबारले शासन ग¥यो। २०१६ जेठ २ मा नेपाली कांग्रेसका नेता सुवर्णशमशेरसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन भो, जसले २०१५ फागुन ७ बाट आमनिर्वाचन सुरु गरायो। सो निर्वाचन २०१६ वैशाख २१ गते मात्र सम्पन्न भयो। १०९ सिटको प्रतिनिधि सभामा नेपाली कांग्रेसले ७४ स्थानमा विजय हासिल ग¥यो र विश्वेश्वरप्रसाद कोइराला २०१६ जेठमा प्रधानमन्त्री हुनुभयो। बिपीले प्रधानमन्त्रीका रूपमा २०१६ फागुन २७ देखि चैत ९ गतेसम्म चीनको मैत्रीपूर्ण भ्रमण गर्नुभयो।

नेपाल–चीन भ्रमणहरू
नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन कि भारत भन्ने हुन्डरी आयो– विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएपछि। यता चीन सरकारको निमन्त्रणा, उता भारत सरकारको। कता जाने पहिला भन्ने मुद्दाले अलि दिन त विश्वेश्वरप्रसादको टाउकै खाएछ। अन्ततोगत्वा कोइरालाले पहिले भारत रोज्नुभयो। २०१६ माघ ३ देखि १७ गतेसम्म भारतको भ्रमण गर्नुभयो। सो भ्रमणको अन्तमा नेपालको विकास कार्यक्रमका लागि १४ करोड रुपियाँको आर्थिक सहायता दिन भारत सरकार मन्जुर भयो। तीनदेखि चार करोड सम्मको सहायता चतरा नहर बनाउन दिने पनि सहमति भयो।

विश्वेश्वरप्रसाद २०१६ फागुन २७ गते चीन सांघाई पुग्नुभयो। उहाँले सांघाइको ह्याङचाउस्थित एउटा तालको किनारामा रहेको बासस्थानमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङसँग पनि कुराकानी गर्नुभयो। ‘चेयरम्यान’ माओले प्रधानमन्त्री काइरालालाई चीनसँग भन्दा भारतसँग नजिकको सम्बन्ध राख्न परामर्श दिनुभयो रे।

चीनले २०१३ मा सम्झौता गरेको भारु ४ करोड बराबरका सामान अहिलेसम्म नेपाल ल्याइपु¥याउन सकिएको छैन। तसर्थ नेपालले चीनसँग भन्दा पनि भारतसँग निकट सम्बन्ध स्थापना गर्नु आवश्यक छ। हामी नेपालका मित्र हौं। यसमा कुनै शंकै छैन। परन्तु अहिले चीनले नेपाललाई जति नै सहयोग गर्न खोजे पनि व्यावहारिक हँुदैन। त्यही भ्रमणक्रममा सोही चैत १३ मा बिपीले हङकङमा पत्रकार सम्मेलन गराउनुभयो।

पत्रकारहरूले गरेको एउटा प्रश्नको उत्तरमा उहाँले ‘सीमा सम्झौताबारे भारतसँग सरसल्लाह लिएको छैन। यो त एकदमै नेपाल र चीनले समाधान गर्ने कुरा हो। केही मिल (माइल) भूमिको मात्र कुरा थियो। सीमाबारे कुनै विवाद थिएन। केवल केही क्षेत्रमा गत ५०÷६० वर्षदेखि नेपाल र चीनबीच अनियमितता थियो। गत १२ महिनामा चीनद्वारा नेपाल भूमिउपर कुनै अतिक्रमण भएको छ भन्ने मलाई कुनै सूचना छैन’ भन्नुभयो।

भावनात्मक संवेदनशीलता
तर चीन भ्रमणबाट स्वदेश फर्किएपछि बिपीले तत्कालीन प्रधानमन्त्री निवास– हाल भन्सार विभाग (त्रिपुरेश्वर)मा पत्रकार सम्मेलन आयोजना गर्नुभयो। सम्मेलन सकिएको घोषणा गरेपछि प्रधानमन्त्री बिपीले फ्याट्ट भन्नु भो– ‘अफ द रेकर्ड, चीनले सगरमाथा दाबी ग¥यो।’ यसभन्दा बढी केही भन्नुभएन। विदेशी पत्रकारहरू भरर्र उठेर टेलिकम्युनिकेसन अफिसतिर हुर्रिए। त्यहाँ एउटा तरंग नै चल्यो। म हालखबर पत्रिकाबाट गएको थिएँ। वास्तवमा त्यतिबेला म सगरमाथा चीनले दाबी ग¥यो भन्ने गम्भीर कुरो बुझ्दोरहेनछु र अफ द रेकर्ड पनि बुझ्दोरहेनछु। तसर्थ त्यसको गहिराइतर्फ लागिनँ।

सगरमाथाउपर चीनको दाबीपछि चिनियाँ प्रधानमन्त्री चाउएन लाइले दोस्रोपटक २०१७ वैशाख १४ देखि गरेको नेपाल भ्रमणक्रममा दुई देशबीचको सिमाना वैज्ञानिक तरिकाले रेखांकन तथा औपचारिक तवरले निर्धारण गर्ने सम्झौता सफलतासाथ सम्पन्न भयो। सगरमाथाबारे सहमति हुनुअघि चाउएन लाइले चेयरम्यान माओसँग नेपालको संवेदनशील भावनात्मक सम्बन्ध रहेको कुरा गरेपछि माओको स्वीकृति लिएका थिए रे। त्यस्तै गौरीशंकर हिमाल पनि कागत लिखत र नक्साका आधारमा एउटा देशमा गौरी र अर्काे  देशमा शंकर परेको रहेछ। नेपालको भावनाको कदर गरी दुइटै चुचुरा नेपालतर्फ नै पारियो रे। यी हुन्, नेपाल–चीनमैत्री सम्बन्धका मसिना बुँदा। आजको नेपाल–चीन सम्बन्धबारे सोच्दा पूर्वघटनाहरूको याद गरे, दुई देशको मित्रता झाँगिन सहयोग पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको