काठमाडौं,२५ साउन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री भए पनि केही गर्न नसक्ने टिप्पणी गरेका छन् ।
बिहीवार खुलापत्र लेख्दै मिश्रले पार्टीको महामन्त्री हुँदा नै औचित्य पुष्टि गर्नुपर्ने अवस्थामा रहेका थापाले प्रधानमन्त्री भए पनि केही गर्न नसक्ने टिप्पणी गरेका हुन् ।
‘कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईं नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईंले फाट्टफुट्ट केही राम्रा कामबाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न। त्यतिबेला ‘म देशको प्रधानमन्त्री भएँ’ भन्ने भावनालाई नै तपाईंले जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेर्नु पर्ने अवस्था आउने छ,’ मिश्रले भनेका छन्, ‘प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो । त्यो आफैँमा उपलब्धि होइन। त्यसपछि तपाईंले यो, यो कारणले मैले केही गर्न सकिनँ भनेर अन्तर्वार्ता दिँदै हिँड्नु पर्नेछ, जसरी अहिले महामन्त्री भए पनि मैले यो, यो कारणले केही गर्न सकिनँ भन्दै औचित्य दर्शाउनु पर्ने स्थिति छ ।’