(बर्दिया) — आनीबानीमा कुनै पनि सुधार नदेखिएपछि १४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने भएको छ । ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारा स्थित श्रीकृष्ण प्रणामी मन्दिरका पुजारी दिलबहादुर रानालाई मारेपछि उक्त गैंडालाई बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिँदै आएको हो ।आनीबानीमा कुनै पनि सुधार नदेखिएपछि १४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने भएको छ । विक्रमलाई अब आजीवन खोरमा राखिने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् । ०६७ साल ताका नै मानिसहरूसँग हिमचिम बढेसँगै उक्त गैंडाको समूहले त्यसलाई लखटेर एउटा आँखा फुटाइदिएको छ । ‘विक्रमलाई जंगलमा छोड्न नमिल्ने यो अर्को कारण पनि हो,’ उनले भने, ‘ऊ बसेको खोरमा समेत बाहिर मानिस आएको थाहा पाएपछि निकै आक्रमक हुने गर्छ ।’
मन्दिरका पुजारीलाई मारे पनि विक्रमलाई केही समय निकुञ्जको मुख्यालयको हातामा चरिचरणका लागि राखिएको थियो । त्यस अवधीमा मानिसको गन्ध थाहा पाउना साथ आक्रमण गर्ने, निकुञ्ज हाता बाहिर निस्केर खेतबालीमा क्षति पुर्याउने गरेपछि भने नियन्त्रणमा लिएर खोरमा राख्न थालिएको थियो । ‘उसलाई बाहिर निकाल्ने अवस्था नभएकोले पोषण युक्त आहारासहित खोर भित्र राखिएको छ,’ सहायक संरक्षण अधिकृत दाहालले भने, ‘बेलाबेलामा स्वास्थ्य अवस्थाको जाँच गर्न चिकित्सक पनि खटिएकाछन् । अहिलेसम्म उसलाई कुनै रोग लागेको छैन ।’
२०५५ सालमा टुहोरो विक्रमलाई चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया स्थान्तरण गरिएको थियो । यहाँ स्थान्तरण गरेपछि उसलाई निकुञ्जमा छाडिएको थियो । ‘उसलाई जंगलका गैंडाले लखट्न थालेपछि निकुञ्जको मुख्यालयमा रहेको ब्यारेकमा सैनिकले भात, तरकारी लगायत फलफुल दिन्थे । बच्चा छँदा विक्रम सधैं निकुञ्ज बाहिर आहाराको खोजीमा खेतबारीमा पस्थ्यो,’ दाहालले भने, ‘खेतीबाली क्षति पुर्याउन थालेपछि गाउँलेले लखट्ने गरेका थिए । साँझ पर्न साथ ऊ निकुञ्जको जंगलमा पस्थ्यो तर उसका साथीले लखेट्ने गर्थेकरिब २५ वर्षसम्म निकुञ्जमा काम गरेका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार विक्रम र कुमार नाम गरेका गैंडाका बच्चा २०५५ सालमा चितवनबाट बर्दिया निकुञ्जको बबई उपत्याकामा स्थान्तरण गरिएको थियो । सानैमा विक्रम र कुमारका आमाहरूको प्राकृतिक कारणले मृत्यु भएको थियो ।जंगलमा बस्दा अन्य वन्यजन्तुले आक्रमण गर्न थालेपछि उनीहरु चितवन निकुञ्ज बाहिर बस्दै आएका थिए ।
‘चितवनमा पर्यटक संग बढी हिमचिम गर्ने, उनीहरुले दिएको खाने गरेका ति गैंडाका बच्चा बर्दिया निकुञ्ज भित्र बस्न सकेनन् । पर्यटकले दिएको खानाले उनिहरुको बानी बिग्रिसकेको थियो,’ उनले भने, ‘प्रायः जसो भुरीगाँउ आसपास क्षेत्रमा आएर खेतीबालीमा क्षति पुर्याएपछि पुनः बबई उपत्याकामा पठाइएको थियो । त्यहाँ पनि बस्न नसकेर विक्रम फर्केर निकुञ्जको मुख्यालय ठाकुरद्वारा आएको थियो । कुमार भने बबई उपत्याकामा नै थियो ।’
पूर्व संरक्षण अधिकृत थापाका अनुसार २०५७ सालमा बबई उपत्याकामा स्थान्तरण गरिएको कुमार नाम गरेको गैंडा मारिएको थियो । सो खबरले निकै चर्चा समेत पाएको उनको भनाइ छ । कुमारको मृत्युपछि विरक्तिएको विक्रम पुनः बबई उपत्यका छाडेर करिब ४० किमी पश्चिम दक्षिण ठाकुरद्वारा आएको थियो । यहाँ आएपछि खेतीबाली खाई दिने र मानिसलाई आक्रमण गर्न थालेको थापा बताउँछन् । ०६७ साल जेठ तेस्रो साता दुई जना मानिसलाई बाटोमा हिँडिरहेको अवस्थामा आक्रमण गरेपछि विक्रमलाई नियन्त्रणमा लिइएको थियो ।
हाल निकुञ्जको मुख्यालय, ठाकुरद्वारामा रहेको खोरमा विक्रम बस्ने गरेको छ । उसको रेखदेखका लागि दुई जना निकुञ्जका कर्मचारी खटिएकाछन् । गोही र हात्ती हेर्ने चुडामणी चौधरी र रंगीलाल थारुले थुनामा रहेको गैंडालाई बरान र घाँस दिने गरेकाछन् । गैंडाले निकै मन पराउने बरान दैनिक तीन टाइम खाने गरेको उनिहरु बताउँछन् । खोर भित्र आहाल र पिउने पानीको व्यवस्था गरिएको छ । उसको दैनिक खर्च करिब ३ सय रुपैयाँ बराबरको रहेको निकुञ्जले जनायो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्पेका अनुसार गैंडाको औसत आयु ४० देखि ५० वर्षसम्म हुने गरेको छ । निकुञ्ज घुम्न आउने मानिसले नजिक गएर फोटो खिच्ने, जिस्काएर सताउने गरेकाले विक्रमको बानीमा परिवर्तन आएको हुनसक्ने उनले बताए । निकुञ्जमा गैंडा हेर्न नपाएका पर्यटकका लागि विक्रम आकर्षणको केन्द्र पनि बनेको छ । गैंडा संरक्षित वन्यजन्तु भएकोले यसलाई मारेमा वा घाइते बनाएमा वा यसको शरिरका कुनै अंगहरु साथमा राखेमा वा खरिद बिक्री गरी ओसारपसार गरे ५ लाख देखि १० लाख जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको निकुञ्जले जनाएको छ ।
सन् १९८६ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको कर्णाली नदी तटिय क्षेत्रमा ५ भाले र ८ पोथी सहित १३ वटा गैडा स्थान्तरण प्रक्रिया शुरु भएको थियो । त्यस पछि त्यसपछि ७० वटा गैडा बबई उपत्याकामा छाडिएको थियो । २० वर्ष अघिसम्म बर्दिया राष्ट्रिय निकुन्ज गैडा चोरी सिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचना खेप्दै आएको थियो । द्वन्द्वकालमा त्यहाँ सुरक्षाका लागि तैनाथ सेना अन्यत्र स्तानान्तरण भएका थिए । त्यसबेला बर्दिया निकुन्जमा गैंडा चोरी सिकारका कारण लोप हुने स्थितीमा पुगेको थियो । चितवनबाट बर्दिया निकुन्जमा स्थान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट मात्रै ३६ र प्राकृतिक कारणले २४ वटा गैंडा मरेका थिए ।
हाल बर्दिया निकुन्जको कर्णाली नदी तटीय क्षेत्रमा २ बच्चासहित ३० र बबई उपत्याकामा १ बच्चासहित ७ वटा गरी ३८ वटा गैंडा रहेको अनुमान छ । । ७ वर्ष अघि चितवन निकुञ्जबाट आठवटा गैंडा स्थान्तरण गरिएको थियो । १६ वर्षयता बर्दिया निकुन्जमा गैंडाको चोरी सिकारबाट शुन्य छ । मध्यवर्ती क्षेत्रका बासिन्दा,चोरी सिकार नियन्त्रणमा युवा दस्ताको परिचालन, संरक्षणकर्मी लगायत निकुन्जका कर्मचारी र सुरक्षाका लागि तैनाथ नेपाली सेनाको सहयोगले चोरी सिकार शुन्य बनेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । ।’
कान्तिपुर