काठमाडौं-
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा शंकरदेव क्याम्पसमा तीन वटा विद्यार्थी गठनले तालाबन्दी गरेका छन् । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएसँगै फागुन २७ गतेदेखि तालाबन्दी गरिएको हो ।
अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले ४०० फर्जी विद्यार्थी भर्ना गरेको देखिए पनि अनौपचारिक रूपमा हेर्दा एक हजार १३२ जना फर्जी विद्यार्थी देखिएको बताए । स्ववियुले गरिव, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापति बस्नेतले चार सय भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाएका हुन् । उनीहरूले स्ववियु अध्यक्ष नै फर्जी विद्यार्थी भर्ना गर्ने काममा लागेको भन्दै त्यसको छानबिन नहुँदासम्म तालाबन्दी नखुल्ने अनेरास्ववियुले जनाएको छ । फर्जी विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने उनीहरूको माथ छ ।
तीन वटा संगठनबाट तालाबन्दी गरिएपछि फागुन २८ गते निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित भएको सूचना जारी गरेको थियो । स्ववियु निर्वाचन अधिकृत ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका थिए ।