पोखरा – स्थानीय सरकारको पर्यटन प्रवर्द्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सुरु भएको छ। शनिबार पोखरामा सुरु कार्यशाला तीन दिनसम्म चल्नेछ।
गण्डकी प्रदेशका २४ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सहभागी कार्यशालाले पर्यटन प्रवर्द्धन गर्ने रणनीति र कार्ययोजना बनाउन सिकाउनेछ।
कार्यशालामा बोल्दै नेपाल सरकारका पूर्वसहसचिव रमेशकुमार अधिकारीले पर्यटनका लागि हरेक स्थानीय तहले स्पष्ट नीति बनाउन आवश्यक रहेको बताए।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा सञ्चालित जीविकोपार्जन पुनोरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी), संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालयले कार्यशाला आयोजना गरेका हुन्। उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले समन्वय गरेको छ।
परियोजनाले सात प्रदेशमध्ये यसअघि कोशी, मधेस, सुदूपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा कार्यशाला गरिसकेको छ। गण्डकीमा सकिएपछि बाग्मती प्रदेशमा हुनेछ।