चितवन । जेनजी आन्दोलनका क्रममा चितवनमा मात्र ९८ वटा भवन संरचनाहरूमा क्षति पुगेको छ भने एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको प्रारम्भिक विवरणअनुसार प्रदर्शनकारीहरूले ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी घर तथा प्रतिष्ठान र ३ वटा पार्टी कार्यालय गरी कुल ९८ वटा संरचनामा तोडफोड र आगजनी गरेका छन् ।
प्रदर्शनले हिंसात्मक रूप लिँदा भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । सो झडपमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । जसमध्ये ४ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि हाल जिल्लाको जनजीवन सामान्य बन्दै गएको र सार्वजनिक यातायात तथा विद्यालयहरू पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । क्षतिको यकिन विवरण सङ्कलन गर्न समिति गठन गरी काम अगाडि बढाइएको छ र यथाशीघ्र पूर्ण विवरण सहितको श्वेतपत्र सार्वजनिक गरिने उनले बताए ।
प्रशासनले विभिन्न कार्यालय परिसरको सरसफाइ सुरु गर्नुका साथै क्षतिग्रस्त संरचनाहरूको मर्मत सम्भार र न्यूनतम सेवा प्रवाह सुचारु गर्न एकद्वार प्रणालीमार्फत विभिन्न सङ्घ संस्थासँग समन्वय गरिरहेको उनको भनाई छ । एक हप्ताभित्र सबै कार्यालयबाट न्यूनतम सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।