काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् कटौती गर्ने भएको छ ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य गरिरहेकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । भूमिगत कार्य सम्पन्न भइसकेका केबलहरूमा ‘केबल राइजिङ’ र ‘केबल कनेक्सन’ कार्यका लागि फिडरहरूमा विद्युत् कटौती गर्नुपरेको सूचनामा उल्लेख छ ।

प्राधिकरणका अनुसार आज शनिबार बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुनेछ । यसबाट लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज टिचिङ अस्पताल आसपासका क्षेत्रहरू, राष्ट्रपति भवन, सीआईबी र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रहरू प्रभावित हुनेछन् ।

यस्तै, भोलि पनि बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ । आइतबार बालुवाटार चुनदेवी मन्दिर जाने बाटोको आरएमयूबाट आपूर्ति हुने बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रहरूमा बत्ती काटिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा समय अगावै विद्युत् आपूर्ति सुरु गरिने समेत स्पष्ट पारेको छ । विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।