चितवन — साहित्य र अन्य सामाजिक विषयमा संवाद शृङ्खला चलाउँदै आएको ‘लेट्स टक’ले शनिबार नाराणगढमा साहित्य उत्सव कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रमको सयौं शृङ्खला अन्तर्गत साहित्य उत्सव आयोजना गरेको संयोजक आकाश पौडेलले बताए । कार्यक्रममा कविता, मुक्तक र गजलका बारेमा विमर्श हुनुका साथै साहित्य र समाजका विभिन्न पक्षहरूका बारेमा पनि चर्चा भएको थियो ।
आफ्ना विचारोत्तेजक भाषणका लागि चितवनका चर्चित व्यक्तित्व प्रेम रिमालको विद्वत् प्रवचनबाट सुरु भएको कार्यक्रममा चितवनमा साहित्य पठन र यसको बजारका विषयमा लेखाराम सापकोटाले बोलेका थिए । त्यसपछि गजलका सन्दर्भमा कमल सङ्घर्षसँग प्रमिला सानूले वार्तालाप गरिन् । गजलपछि आख्यानको पालो आएको थियो ।
साहित्यकार अमर न्यौपानेलाई बालकृष्ण थपलियाले ‘नेपाली आख्यान र पाठक मनोविज्ञान’का बारेमा सोधेका थिए । मुक्तकका बारेमा सरु लामिछाने र परिवेश चापागाईँले मन्थन गरेका थिए । साहित्य लेखनमा सुख–दुखका विषयहरूमा नयनराज पाण्डेको भोगाइलाई एकनारायण पौड्यालले बाहिर ल्याएका थिए । भूपिन खड्कासँग वार्तामा बसेका गोपी सापकोटाले ‘कविताको उडान र भूपिन’मा बहस गरे ।
लेट्स टकले २०७८ सालको जेठ एकमा पहिलो शृङ्खला सुरु गरेको थियो । सयौं शृङ्खलासम्म आउँदा कविता वाचन, पुस्तक समीक्षाका साथै समाज र अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयहरूमा बहस चलाएको संयोजक आकाश पौडेलले बताए । अनलाइनमा केही नयाँ कार्यक्रम गर्न सकिन्छ कि भनेर पाँचजना साथीहरूबाट सुरु गरेको अभियानले अहिले बृहत् आकार लिएको उनको भनाइ छ ।








