लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । सातौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गर्नेछन् ।

यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने तथा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेस गर्ने कार्यसूची पनि समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।