काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब २८ लाख रुपैयाँ ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका–३१ बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।
पक्राउमध्ये कृष्णजीले यूएई पठाइदिन्छु भन्दै एकजना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । यस्तै, अनिलले क्यानडा पठाइदिने भन्दै १८ लाख र विवेकले यूएई पठाइदिने भन्दै साढे तीन लाख ५० हजार रूपैयाँ ठगी गरेका हुन् ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।








