काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा विवाद छ । सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको छैन । सेनाको स्वामित्वमा रहेको सो भवनमा एसटीसी होलसेल मार्केट सञ्चालित छ ।

जयन्ती निर्माण सेवा प्रालिसँग गरेको लिज करार सम्झौताको सर्त पालना नभएको भन्दै संस्कार नारायण भारीले काठमाडौँ जिल्ला अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकबहादुर कार्कीले सैनिक कल्याणकारी कोष र जयन्ती निर्माण सेवा प्रालिलाई करार सम्झौता विपरीत हुने गरी कुनै पनि किसिमको काम नगर्न अन्तरिम आदेश गरेका थिए । जयन्ती र निवेदक बिचमा २०७८ चैतमा लिज करार सम्झौता भएको थियो ।

अन्तरिम आदेश कायम रहँदै भवन व्यवस्थापन समितिका लेखापाल नानीराम थापा, पूर्व जर्नेलद्ववय सुनिल विष्ट र कृष्णदेव भट्टले व्यापारीहरूलाई भवन छाड्न दबाब दिने गरेको आरोप व्यापारीहरूले लगाएका छन् । एसटीसी मार्केटका एक जना व्यापारी भन्छन्, ‘नानीराम थापा सहितका पूर्वसैनिक अधिकृतहरूले भवन छाड्न दबाब दिइरहनुहुन्छ ।’

पूर्वसैनिक अधिकृतहरू भवन व्यवस्थापन समितिमा आबद्ध छन् । कल्याणकारी भवन १४ वर्षका लागि भाडामा लिने दिनेगरी भएको पुरानो सम्झौता तोड्दै सैनिक कल्याणकारी भवन व्यवस्थापन समितिले मङ्सिर २६ मा नयाँ सम्झौताको लागी शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।

सो निर्णय विरुद्ध अर्का व्यवसायी अस्मिलाल भट्टराईले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सो रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल गर्न अदालतले माघ २२ मा दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले कल्याणकारी कोषका जिम्मेवार अधिकारीले व्यापारीहरूलाई अनावश्यक दबाब नदिएको बताए । उनले भने, ‘अदालतको आदेश विपरीतका काम भए गरेको छैन ।’