अर्घाखाँची : एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एक महिलासहित १५ जना चुनावी प्रतिष्पर्धामा छन् । विभिन्न पार्टीका १२ र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रतिष्पर्धामा छन् । जसमा एक जना मात्र महिला उम्मेदवारी छिन् । एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन् ।
अर्घाखाँचीमा उठेका नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरु सबै जिल्लामै बसेर संगठन निर्माण तथा विकास निर्माण, जनताका सुख–दुःखमा भिजेका उम्मेदवार छन् । जसका कारण पनि फागुन २१ गते हुने निर्वाचनको नतिजा यहि पार्टीको उम्मेदवारले जित्छ भनेर धारणा बनाउन सकिने अवस्था छैन ।
दलहरु घरदैलो तथा निर्वाचन केन्द्रीत अभियानमा लागेका छन् । जनतालाई भेटेर आफू र आफ्नो पार्टीको उम्मेदवारलाई विजयी गराउन उनीहरु जिल्लाका गाउँ केन्द्रीत अभियानमा छन् । नेकपा एमाले विगत बर्षदेखि जित्दै आएको आफ्नो बर्चस्व कायम गर्ने दाउमा छ । कांग्रेस लामो समयदेखि जितविहीन रहेकाले यो पटक जित्ने दाउमा छ । रास्वपा र नेकपा पनि आफूहरुले जित्ने दावी गर्दै आएका छन् ।
पहिला दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले एउटा मात्र निर्वाचन क्षेत्र छ । २०४६ र २०५१ मा दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले जीत निकालेको थियो । दुई पटक नै १ बाट रेवतीप्रसाद भुसाल र २ बाट ढुण्डिराज शास्त्रीले जितेका थिए । २०५६ सालमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेलपछि १ मा राजमोका डिलाराम आचार्य र २ मा नेकपा एमालेका डिल्लीराज खनालले जितेका थिए ।
२०६४ सालमा १ मा माओवादीका टोपबहादुर रायमाझी र २ मा पुष्पा भुसालले जितेकी थिइन् । २०७० मा १ मा माओवादीबाट टोपबहादुर रायमाझी र २ मा नेकपा एमालेका स्वर्गीय दुमनसिंह थापाले जितेका थिए । २०७४ मा अर्घाखाँची १ वटा निर्वाचन क्षेत्रमा झर्यो । नेकपा माओवादी र एमालेको गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझीले जितेका थिए ।
२०७९ को निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम) लाई १,७३० मतान्तरले पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् । २०७९ सालको निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा १० हजार बढी मतले अगाडि छ ।
उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो । नेपाली कांग्रेसले २६ हजार ८६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । ८,९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो । नेकपा माओवादी केन्द्रले ७,३४२ मत ल्याउँदै चौंथो भएको थियो ।
राष्ट्रिय जनमोर्चाले ५,३२७ मत र नेकपा (एकीकृत समाजवादी) ले एक हजार ६७ मत ल्याएको थियो । २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमाले एक्लै र नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी प्रतिष्पर्धा गरेका थिए ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) को उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कानले दर्ता गरेका हुन् । नेकपा एमालेबाट पिताम्बर भुसालको उम्मेदवारी परेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका भुसाललाई एमालेले उम्मेदवार बनाएको हो ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन् ।
महिला उम्मेदवार स्वतन्त्रबाट एक जनाको मात्र परेको छ । पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । त्यस्तै मंगल नेशनल अर्गनाइजेशन पार्टीबाट सूर्यबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णुबहादुर गाहा, स्वतन्त्रबाट हिमाल भुसालले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कुल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिए । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना छन् । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् ।








