शुक्रबार बिहान हङकङका छुट्टाछुट्टै दुई ठाउँमा आगलागी भएको छ। चुनमुन लाइनमा रहेको एमटीआर रेल र याउमा तेई क्षेत्रमा रहेको बार्जमा आगलागी भएको हो।
याउमा तेईमा यस प्रकारको आगलागी हप्ता दिनभित्रै दोस्रो पटक हो भने चुनमुन आगलागीका कारण ४ सय यात्रु प्रभावित भएका छन्। पोर्टेबल पावर बैंकमा आगो लागेपछि धुवाँले भरिएका रेलका डिब्बाबाट यात्रुलाई बाहिर निकालिएको थियो।
याउमा तेईको कार्गो क्षेत्रमा चाहिँ पुन:नवीकरण गरिएको धातु बोकेको बार्जमा आगलागी भएको हो। एक हप्ताभित्रै उक्त साइटमा समान प्रकृतिको दोस्रो आगलागी भएपछि सुरक्षा उपाय मजबुत नबनाइएको भनी आलोचना भएको छ। सांसद भिसेन्ट चेङले बलियो निरीक्षण र सुरक्षा उपायहरूको लागि विज्ञप्ति नै निकालेर आह्वान गरेका छन्।
‘६ दिनभित्र एउटै कार्गो कार्य क्षेत्रमा पुन:नवीकरण गरिएको धातुका सामग्री समावेश भएको यो दोस्रो घटना हो र गत वर्ष पनि पाँच पटक यस्तै घटना भएका थिए,’ चेङलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ, ‘यति छोटो अवधिमा लगभग एउटै स्थानमा उस्तै प्रकृतिका दुई आगलागी हुनु अत्यन्तै असन्तोषजनक छ।’
बिहान सवा ४ बजे आगलागीको खबर पाएको अग्नि सेवा विभागले आगो निभाउन सुरु गर्नुअघि असामान्य गन्धबाट प्रभावित सर्वसाधारणलाई घरभित्रै बस्न, ढोका र झ्यालहरू बन्द गर्न सल्लाह दिएको थियो।








