नेपाली काङ्ग्रेसका सभापति गगन थापाको चुनावी क्षेत्रमा बुधबार बालेन्द्र साहले ‘रोड सो’ प्रदर्शन गरेका छन्। रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका रूपमा प्रचारित साहले सर्लाहीको ससदिय निर्वाचन क्षेत्र नम्बर ४ मा ‘रोड सो’ गरिरहेका हुन ।
उम्मेदवारको मनोबल बढाउन तथा जन समर्थन प्राप्त गर्न बालेन्द्र देश दौडाहामा छन्। सोही क्रममा बुधबार बिहान सर्लाहीको लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलङगवा पुगेर हुलाकी मार्ग हुँदै क्षेत्र नम्बर ४ मा पुगेका हुन्।
क्षेत्र नम्बर ४ बाट अमरेश कुमार सिंह रास्वपाका उम्मेदवार छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा सिंहले बालेन प्रधानमन्त्री नभए आफूले आत्मदाह गर्ने घोषणा गरेका थिए।
सर्लाही ४ मा गगन थापा र सिंंहबीच कडा प्रतिस्पर्धा मानिएको समयमा बालेनको रोड सो भएको हो।
सर्लाहीको गोडैता, हिरापुर, बरहथवा, नयाँरोड, बागमती लगायतका स्थानमा हजारौँ बालेन समर्थक ओइरिएका छन्। रास्वपाको झन्डा, फुल माला हातमा लिएर सर्वसाधारण हरू बालेनलाई हेर्न उत्सुक छन्।
आजै सर्लाहीको एक देखि चार वटै निर्वाचन क्षेत्रमा रोड सो सम्पन्न गरेर पूर्व पश्चिम राजमार्गको बागमती भएर रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुर जाने कार्यक्रम छ ।
बुधबार सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा बालेनको रोड सो फरक शैलीमा गरेको देखिएको छ। बालेन रोड सो को क्रममा गाडीबाटै आफ्ना समर्थकलाई हात हल्लाउँदै केही नबोली फर्केका छन्।








