सुर्खेत । चुनावी अभियानका क्रममा कालीकोटमा दुई उमेदवारको जम्काभेट भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार महेन्द्रबहादुर शाही र नेकपा (एमाले) उमेदवार नगीन्द्र शाही (नेसनल)को जम्काभेट भएको हो ।
बिहीबार (माघ २९) बिहान भएको भेटमा उनीहरू दुवैजनाले चुनावमा एकअर्कालाई सहयोग गर्न आग्रह गरेका छन् ।
भेटपछि नेकपाका उमेदवार महेन्द्रले कालीकोटको विकासका लागि आफू प्रतिनिधि भएर जादाँ सबै पार्टीको प्रतिनिधित्व हुने भएकाले एमालेका उमेदवार नगीन्द्रसँग आफूलाई सहयोग गर्न आग्रह गर्दा उनी सकरात्मक भएको बताए ।
“मैले प्रतिनिधिका रूपमा नेकपाबाट चुनावमा भाग लिए पनि कालीकोटका सबै प्रतिस्पर्धीको साझा उमेदवार हो,” महेन्द्रले भने, “कालीकोटको विकास र समृद्धिका लागि बाहिर भन्न नसके पनि एमालेका उमेदवार नगीन्द्रले आफूलाई साझा पात्रका रुपमा लिनेमा म विश्वस्त छु ।”
यता एमालेका उमेदवार नगीन्द्रले भने राजनीतिमा प्रतिशोधभन्दा समझदारी कायम राख्नुपर्ने बताए । “उहाँ विगतदेखि अहिलेसम्म निरन्तर चुनावी मैदानमा हुँदा उहाँको कालीकोटमा सकारात्मक प्रभाव परेकै छ,” नगीन्द्रले भने । बाँकी काम गर्न आफूलाई सहयोग गर्न अनुरोध गरे पनि आफूले भने कुनै प्रतिक्रिया नदिएको जानकारी दिए ।
“राजनीतिमा बोलेर गर्नुपर्छ भन्ने पनि छैन, नबोल्नु पनि एक प्रकारको मौन समर्थन हो,” महेन्द्रले, भने, “म राजनीतिमा कति इमानदार छु भन्ने उहाँलाई राम्रोसँग थाहा छ । त्यसैले म पनि एमालेको मात्र उमेदवार होइनजस्तो लाग्छ । सबैको साझा उमेदवार हुँ ।”
कालीकोटमा अहिले १० जना चुनावी मैदानमा छन् ।








