काठमाडौं ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको सञ्चालन आय सामान्य रूपमा बढे पनि खुद मुनाफा उल्लेख्य रूपमा घटेको छ ।

दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशत (२९ करोड ४८ लाख रुपियाँ) बढी हो। तर कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपियाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशत (२९ करोड २० लाख रुपियाँ) कम हो ।कम्पनीको कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपियाँमा सीमित हुँदा ४.५९ प्रतिशतले कमी आएको छ । सबैभन्दा

बढी असर खुद मुनाफामा देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपियाँमा झरेको छ, जुन गत वर्षको तुलनामा १२.९८ प्रतिशत (६२ करोड १४ लाख रुपियाँ) कम हो। कम्पनीको प्रतिशेयर आम्दानी ४६.२७ रुपियाँ रहेको छ ।