काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बंगलादेशको नयाँ मन्त्रिपरिषद्को शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले भारतसहित १३ देशका सरकार प्रमुखहरूलाई निमन्त्रणा पठाएका छन् ।
चीन, साउदी अरब, भारत, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाइ, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटानमा निमन्त्रणा पठाइएको बीबीसीले जनाएको छ । शपथग्रहण समारोह १७ तारिखमा आयोजना हुनेछ ।
१२ फेब्रुअरीमा भएको चुनाव ३०० मध्ये बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २०९ सिट जित्दा जमात–ए–इस्लामीले ६८ सिट जितेको छ । बीएनपीअध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन् । चुनावको नतिजा आएपछि मोदीले रहमानलाई फोन गरेर बधाई दिएका थिए भने बीएनपीले उनलाई धन्यवाद दिएको थियो ।
भारतले भने यसबारेमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । मोदी शपथग्रहणमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । शेख हसिनाको सरकार ढलेपछि भारतले बीएनपीसँग संवादको बाटो भने खोलेको छ । रहमानले पनि रचनात्मक रूपमा भारतसँग बहुआयामिक सम्बन्ध सुदृढ गर्नेमा जोड दिएका छन् ।
बीएनपीले आफ्नो चुनावी अभियानमा ‘सबैसँग मित्रता’ को नीति लिने वाचा गरेको थियो । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहपछि सार्क देशहरूका नेताहरूको यस्तो जमघट ढाकामा हुन सक्ने कतिपयको आकलन छ ।
मोदीको बधाई सन्देशको प्रशंसा गर्दै बीएनपीले एक्समा लेखेको छ, “धेरै–धेरै धन्यवाद माननीय नरेन्द्र मोदी । राष्ट्रिय चुनावमा बीएनपीको निर्णायक जित दिलाउन तारिक रहमानको नेतृत्वलाई तपाईंले जसरी स्वीकार गर्नुभयो, त्यसका लागि हामी धेरै आभारी छौँ ।”
बंगलादेशको अखबार द डेली स्टारले मन्त्रिपरिषद्को शपथग्रहण समारोह बंगभवनको दरबार हलमा नहुने जनाएको छ । यसको सट्टा बीएनपीको नेतृत्वको सरकारले मंगलबार राष्ट्रिय संसदको साउथ प्लाजाबाट आफ्नो कार्यकालको सुरुवात गर्नेछ । यो बीएनपीको रोजाइअनुसार भएको समाचारमा उल्लेख छ ।
नवनिर्वाचित सांसदहरूको शपथग्रहण मंगलबार बिहान १० बजे र मन्त्रिपरिषद्को शपथग्रहण त्यही दिन साँझ ४ बजे हुनेछ ।








