जुम्ला । जुम्लाबाट नेपालगन्जसम्म जान एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ तोकिएपछि स्थानीयले विरोध जनाएका छन् । जिल्ला एम्बुलेन्स समितिले आफूखुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले असन्तुष्टि जनाएका हुन् ।

जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सहरूको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए ।

निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भने, “आवश्यक परेमा आगामी बैठकबाट पुनरवलोकन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा प्रतिकिमि ६००, जिल्लाभित्र कच्ची सडकमा प्रतिकिमि १०० र पक्की सडकमा ९० रुपैयाँ (दुवैतर्फ) तोकिएको छ ।”

यस्तै, जुम्लाका सबै स्थानदेखि सुर्खेतसम्म एम्बुलेन्स भाडा २० हजार र जुम्लाबाट नेपालगन्जसम्म २५ हजार निर्धारण गरिएको प्रमुख शर्माले बताए । जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले दूरी र स्थानका आधारमा भाडादर निर्धारण गरिएको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरकफरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाडामा एकरूपता ल्याउन समिति सक्रिय भएको प्रजिअ पौडेलको भनाइ छ । सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन् ।

तर, सुर्खेत र नेपालगन्जसम्मको भाडा अत्यधिक महँगो भएको भन्दै स्थानीय असन्तुष्ट छन् । बिरामीलक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको स्थानीयको गुनासो छ । जिल्ला एम्बुलेन्स समितिले भने भाडादर दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको जनाएको छ ।