सोमबार दिउँसो मत माग्दै घरदैलामा आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई झापा क्षेत्र नम्बर ५ की एक महिला प्रश्नहरू सोध्दै थिइन्।

‘मेरो एउटा सानो प्रश्न छ, बालेन शाह ज्यूलाई,’ उनले भनिन्, ‘झापा ५ मा सुकुम्वासी धेरै छन्। अब धनीपूर्जा कहिले पाइएला? चुनावको बेला मात्रै सुकुम्बासीका कुरा गरेर मत माग्ने हो कि, साँच्चै काम हुने हो?’

झापाका सुकुम्वासी बस्तीमा पुगेका बालेनका लागि काठमाडौँमा सुकुम्वासीहरूलाई लखेटेको आरोप लाग्दै आएको छ। तर, अब उनी अब यस्ता प्रश्नबाट भाग्न सक्ने अवस्थामा छैनन्।

ती महिलाको प्रश्नको जबाफ दिँदै बालेनले भने, ‘हजुर, एकदमै राम्रो प्रश्न गर्नुभयो। सुकुम्वासीको समस्या झापामा मात्रै होइन, देशभरि नै एउटा ठूलो समस्याको रूपमा छ। धनी पुर्जा दिलाउनको लागि भूमि आयोगसँग महानगरको मेयरमा जाने बेलैमा हामीले सम्झौता गरेका थियौँ। ३ महिनाभित्र हामीले सम्झौता गरिसकेका थियौँ। तर सरकार तीन–तीन र छ–छ महिनामा परिवर्तन भइरहने भएकोले काम हुन पाएन।’

त्यसक्रममा बालेनले काठमाडौँका खोला किनार नबस्नुस्, खोला किनारामा बाढीले डुबाउँछ भनेर सुकुम्बासीलाई सम्झाएको बताए।

‘खोला किनारबाट अन्त सारेर, ६ महिना बरु लजमा राखेर भए पनि सुकुम्बासीको लगत सङ्कलन गरेर धनी पुर्जा दिनुपर्छ भनेर हामीले पहल गरेका थियौँ,’ मतदातालाई फकाउने शैलीमा बालेनले भने।

झापा ५ का सुकुम्वासी बालेनलाई धनी पुर्जा दिलाइदिन आग्रह गरिरहेका छन्।

उनलाई भूमिहीन तथा सुकुम्वासी समस्या, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार लगायतका विषयमा मतदाताले प्रशस्त प्रश्न गर्ने गरेका छन्। कतिपयले निर्वाचित भएर गएपछि नेताहरू फर्किएर नआएको भन्दै बालेनबाट प्रतिवद्धता पनि खोजिरहेका छन्।

आफ्नो घरमा आएका बोलनलाई एक महिला मतदाताले प्रश्न गरिन्, ‘हाम्रो पनि कुरा सुन्नुस्, हाम्रो पनि समस्या सुन्नुस्, तपाईँले बोल्नु पर्छ, हामी तपाईँको जवाफ खोजी रहेका छौँ।’

त्यसपछि बालेनले आफ्नो मुख्य नीति सुनाए। ‘हाम्रो मुख्य नीति पैसा नहुनेले शिक्षा र स्वास्थ्य पाउनुपर्छ र पैसा हुनेले व्यापार–व्यवसाय र रोजगारी गर्न पाउनु पर्छ भन्ने हो,’ बालेनले भने।

उनले काठमाडौँ महानगरपालिका चार वर्षसम्म काम गरेको बताए। ‘हामीले काठमाडौँ महानगरपालिकामा चार वर्ष काम गरिसकेका छौँ,’ बालेनले भने, ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पदा, त्यहाँको कल्चर लगायतका क्षेत्रमा जे गरेका छौँ, मान्छेले हेर्दा चित्त बुझ्ने अवस्था छ।’

बालेन मिडियाको फेस गर्दैनन्। तर, झापामा उनी मतदाताको प्रश्न तेर्सिएपछि भागेर हिँड्ने अवस्थामा छैनन।

मतदाताले गाउँगाउँमा जाँदा र्‍याखर्‍याखती पार्न थालेपछि उनले अब भने मतदाताले उठाएका प्रश्नहरूको जवाफ दिन थालेका छन्।

स्थानीय त्रिवेणी मार्गका मतदाताले बजारसँगै जोडिएको सडक समेत कालोपत्रे नगरिएको भन्दै सडकको स्तरोन्नति गरिदिन बालेनलाई आग्रह गरे।

त्रिवेणी रोड किनारमा बस्दै गरेका एक मतदाताले भने, ‘लु हेर्नुस्, यो सडकको अवस्था, बजारदेखि एकडेढ किलोमिटरको दुरीमा छ, यसलाई त्रिवेणी मार्ग भन्छन्, तपाईँले बनाइदिने हो की हैन?’

अहिले झापा क्षेत्र नम्बर ५ का मतदाताहरू यस्तै प्रश्नहरू उम्मेदवारलाई तेर्साइरहेका रहेका छन्।

बालेनलाई मात्रै हैन अन्य उम्मेदवारहरूलाई पनि मतदाताले समस्या आफ्ना गाउँघरका समाधान गर्न आग्रह गर्दै आएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढिरहँदा झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बढी प्रश्नहरू तेर्सिने गरेका छन्।

लामो समयसम्म प्रधानमन्त्री बनेर पनि गाउँ नआएको, विकास निर्माणको काम समानुपातिक रुपमा नभएको लगाएका आरोप ओलीमाथि लाग्ने गरेको छ।

कतिपयले वर्षौँदेखि आश्वासन मात्र दिएको, धनीपूर्जा र आधारभूत सुविधाहरू अझै प्राप्त नगरेको भन्दै ओलीप्रति आक्रोश पोख्ने गरेका छन्।

ओलीले भने आफ्नो कार्यकालमा भएका ठूला विकासका कामहरू देखाएर आफ्नो बचाउको प्रयास गर्छन्।

अहिले देशमा विदेशी शक्तिले अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै राष्ट्रियता रक्षाको लागि नेकपा एमालेलाई मत माग्छन्। एमाले नेतृत्वमा मात्रै देशमा स्थिरता र समृद्धि सम्भव हुनेमा उनको जोड छ।

ओलीको अगुवाइमा झापामा भएका पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएको पहुँच अभिवृद्धि लगायतका कारणसमेत मतदाताहरू एमालेको पक्षमा रहेको दाबी एमाले प्रदेश सदस्य अमर शिवाकोटी गर्छन्।

एमालेले झापा ५ मा महिला, बुद्धिजीवी, युवा, विद्यार्थी लगायतका अलग अलग समूह र प्रचार समितिहरू बनाएर घरदैलो अभियान सञ्चालन गरिरहेको छ।