मुम्बई । बलिउडका चर्चित चलचित्र निर्देशक रोहित शेट्टीको जुहूस्थित निवासमा भएको गोली काण्ड प्रकरणमा मुम्बई अपराध शाखाले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । हालसम्म यो प्रकरणमा ११ जना पक्राउ परिसकेका छन् ।
गत १ फेब्रुअरीको मध्यरातपछि करिब १२ः४५ बजे जुहू क्षेत्रमा रहेको उनको नौ तले भवनको पहिलो तल्लामा कम्तीमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो । तीमध्ये एक गोली भवनभित्र रहेको जिम हलको सिसामा लागेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षालाई कडाइ गरिएको थियो भने प्रारम्भिक अनुसन्धान तत्कालै सुरु गरिएको थियो ।
जबरजस्ती चन्दा असुली तथा अपहरणकारी अपराधी गिरोहले उनको घरमा गोली प्रहार गरेको प्रहरीको कथन छ । सो घटनापछि मुम्बई प्रहरीले निर्देशक रोहितलाई थप सुरक्षा प्रदान गर्दै आएको छ । उनलाई सिभिलमा समेत सुरक्षाकर्मी दिइएको मुम्बई प्रहरीले जनाएको छ ।
मुम्बई प्रहरी अपराध शाखाका अनुसार यस घटनामा संलग्न थप ६ जना अभियुक्तलाई राजस्थानबाट पक्राउ गरिएको छ र उनीहरूलाई मुम्बई ल्याइँदै छ । यससँगै उक्त घटनामा पक्राउ पर्नेहरूको संख्या ११ पुगेको छ। प्रहरीको जबरजस्ती चन्दा तथा आतंक विरोधी सेलले हरियाणा र राजस्थानमा संयुक्त अपरेसन सञ्चालन गरी मुख्य शूटर दीपक शर्मा र अन्य सहयोगीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये आदित्य गायकी, सिद्धार्थ येनपुरे, समर्थ पोमाजी, स्वप्निल सकट र आसाराम फसालेले शूटरलाई स्कुटर, हतियार तथा अन्य उपकरण उपलब्ध गराएको आरोप छ ।
प्रहरीले घटनामा महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन (मकोका) अन्तर्गत कडा धाराहरू प्रयोग गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार कुख्यात लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित शुभम् लोनकरले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको दाबी गरिएको छ । उनी यसअघि बाबा सिद्धिकी हत्या प्रकरण तथा अभिनेता सलमान खानको बान्द्रा निवासमा भएको गोली काण्ड घटनामा समेत वान्टेड अभियुक्त रहेका छन् ।








