काठमाडौं । पाकिस्तानमा भएका दुई बम हमला र प्रहरी तथा विद्रोहीबीच भएको गोलीबारीको घटनामा कुल १४ जनाको मृत्यु भएको छ ।

मारिनेहरूमध्ये ११ सुरक्षाकर्मी र तीनसर्वसाधारण नागरिक रहेका छन् । समाचार एजेन्सी एएफपीले एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

नाम नबताउने सर्तमा ती अधिकारीले जानकारी दिएअनुसार, सोमबार साँझ बाजौर जिल्लामा एक आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन एक धार्मिक कलेजको पर्खालमा ठोक्काएका थिए । यस हमलामा आठ सुरक्षाकर्मी मारिएका छन् भने १० जना घाइते भएका छन् ।

दोस्रो हमला बन्नु सहरमा भयो, जहाँ एउटा रिक्सामा जडान गरिएको बम मिर्यान प्रहरी चौकीमा विस्फोट भयो । यस हमलामा दुई सर्वसाधारणको मृत्यु भयो र १७ जना घाइते भएका थिए । यसका साथै, शांगला जिल्लामा खानतलासी अभियानका क्रममा भएको गोलीबारीमा तीन सुरक्षाकर्मी र तीन विद्रोही मारिएका छन् ।

यी तीनवटै छुट्टाछुट्टै घटनाहरू सोमबार, १६ फेब्रुअरीका दिन खैबर पख्तुनख्वा प्रान्तमा भएका हुन् । यी घटनाहरूमा २५ जना घाइते समेत भएका छन् । यतिबेला पाकिस्तानका सुरक्षा बलहरू अफगानिस्तानको सीमासँग जोडिएका दक्षिणी र उत्तरी प्रान्तहरूमा बढ्दो विद्रोहको सामना गरिरहेका छन् ।