काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह नागरिकता विवादमा तानिएका छन्। उनका प्रारम्भिक नागरिकतामा ‘बालेन्द्र साह’ लेखिएको थियो भने पछि ‘बालेन्द्र शाह’ परिवर्तन भएको पाइएको छ।

महत्वपूर्ण कुरा के हो भने, काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनु अघि उनका बुबा रामनारायण, आमा ध्रुवदेवी र आफ्नै नागरिकतामा ‘साह’ थर देखिन्छ। तर मेयर निर्वाचित भएपछि २०७९ मंसिर ७ गते जारी नागरिकतामा उनका आमा–बुबा र बालेन्द्रको थर ‘शाह’मा परिवर्तन गरिएको छ। दाजु कौशलेन्द्रको नागरिकतामा भने पुरानै ‘साह’ नै उल्लेख छ।

नागरिकता ऐन २०६३ को दफा १२ अनुसार, झुटो विवरण पाए नागरिकता रद्द गर्न सकिने व्यवस्था छ। दफा १७ अनुसार सानातिना त्रुटि सच्याउन सकिन्छ, तर यस घटनामा ‘सानातिना त्रुटि’को परिभाषा नपुग्ने र कानुनी रूपमा विवादको जोखिम रहेको देखिन्छ।

यस मुद्दाले आगामी राजनीतिक गतिविधिमा प्रभाव पार्न सक्ने आशंका गरिएको छ।

के छ कानुनी प्रावधान ?

नागरिकता ऐन २०६३ को दफा १२ मा कुनैपनि नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाण पत्र रद्द गर्ने व्यवस्था लेखिएको छ ।

यसैको दफा १७ मा विवरण सच्याउन पाउने नागरिकता ऐनमा व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर वा शैक्षिक योग्यताको प्रमाण फरक पर्न गई प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने हुन्छ ।‘

तर यसको स्पष्टीकरणमा भनिएको छ, यस उपदफाको प्रयोजनका लागि सानातिना त्रुटि भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरण जस्तै- कुमारी, देवी, बहादुर, प्रसाद जस्ता बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटिलाई जनाउनेछ । दफा १२ अनुसार बालेन र उनका आमाबुवाको हकमा यो कुरा देखिँदैन ।