७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनमा सहभागी युवालाई उनीहरूको विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका छन् ।
मोरङ–१ मा पर्ने केराबारीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएको आन्दोलनमा सहभागी जेनजी युवालाई विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका हुन् ।
‘भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ‘समग्र क्षेत्रमा सम्पूर्ण परिवर्तन’ माग गरेको थियोे । राजनीतिमा परिवर्तन, सरकारमा परिवर्तन, दलहरूमा, प्रशासनमा अनि समाजमा परिवर्तन,’ शर्माले भने, ‘एउटा निर्णय या एउटा घोषणाबाट निश्चय नै सम्पूर्ण क्षेत्रमा परिवर्तन हुन सक्दैन, तर सुरूवात गर्न सकिन्छ । म जेनजी युवाहरूलाई सोध्न चाहन्छु– त्यो सुरुआत कसैले ग¥यो कि गरेन ?’
जेनजी युवाले आफ्नो घरमा बसेर एक्लै सोचे पनि अथवा ‘डिस्कर्ड’ मा जुटेर संवाद गरे पनि परिवर्तनको सुरूवात कहीँबाट भएको छ भने त्यो आशाको सुरूवात भएको उनको भनाइ थियो ।
‘त्यो कसले गरेको छ ? कुन दलले नेपाली समाजको एकएक असन्तुष्टिलाई विशेष महाधिवेशनमार्फत् पहिचान गरेर निदानको नवीन दृष्टि निर्माण गरेको छ ?,’ उपसभापति शर्माले प्रश्न गरे, ‘कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ ? कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि आएको छ ? म जान्दछु– तपाईंहरूले चाहेको परिवर्तन भावनात्मक मात्रै होइन, वास्तविक हो !’








