काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा भएको ठुलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । लामिछानेले दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो। तर, यसतर्फ गम्भीर चासो र चिन्ता विगतमा लिइएन। दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो, हुन सकेन।’
उनले सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ कार्यान्वयन हुने नियम र प्रभावकारी अनुगमन नै यस्ता त्रासदी रोक्ने आधार भएको जिकिर गरेका छन् । ‘हामी गम्भीर र जिम्मेवार हुनेछौँ,’ उनले लेखेका छन् ।
धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।







