काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको घोषणा गर्दै स्मार्टफोन प्रविधिमा नयाँ परिवर्तनको सुरुआत भएको जनाएको छ ।
नवीनतम ग्यालेक्सी कृत्रिम बुद्धिमत्ता प्रविधिद्वारा सञ्चालित यस सिरिजले प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी थप व्यक्तिगत, बुद्धिमान र सहज मोबाइल अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एस २६ सिरिजको केन्द्रमा नयाँ पुस्ताको ग्यालेक्सी कृत्रिम बुद्धिमत्ता प्रणाली रहेको छ । जसले स्मार्ट अन्तरक्रिया, उन्नत उत्पादकता र सहज सिर्जनशीलता सम्भव बनाउने दाबी गरिएको छ ।
उत्कृष्ट क्यामेरा क्षमता, वास्तविक समय सहयोग सुविधा, अनुकूलित प्रदर्शन र ऊर्जा दक्षतामार्फत उपकरणले प्रयोगकर्ताको बानीअनुसार आफूलाई ढाल्दै दैनिक कार्यलाई सरल र प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।
डिजाइन र प्रदर्शनतर्फ पनि यस सिरिजले नयाँ मापदण्ड स्थापित गरेको सामसङले जनाएको छ । परिस्कृत प्रिमियम बनावट, उन्नत प्रशोधन क्षमता तथा कृत्रिम बुद्धिमत्ता आधारित ब्याट्री अनुकूलन सुविधासहितको यो सिरिजले सहज बहुकार्य सञ्चालन, आकर्षक मनोरञ्जन अनुभव र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने दाबी गरिएको छ ।
कृत्रिम बुद्धिमत्ताद्वारा सशक्त बनाइएका क्यामेरा प्रणालीले जुनसुकै वातावरणमा पनि उच्च स्पष्टतासहित तस्बिर तथा भिडियो खिच्न सक्षम बनाउने उल्लेख गरिएको छ ।
सामसङ मोबाइल अनुभव डिभिजनका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी एस २६ सिरिजले प्रयोगकर्तालाई वास्तवमै बुझ्ने उपकरण प्रस्तुत गरेको बताउँदै कृत्रिम बुद्धिमत्ताले स्वाभाविक र सहज अनुभव प्रदान गर्ने उल्लेख गरे । उनका अनुसार यस प्रविधिले नेपाली उपभोक्तालाई दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतामा उन्नत अनुभव दिलाउनेछ ।
औपचारिक सार्वजनिकरणअघि सामसङ नेपालले ‘ह्यान्ड रेजर’ पूर्व–दर्ता योजना सञ्चालन गरेको थियो । जसअन्तर्गत ग्राहकहरूले अग्रिम रूपमा रुचि दर्ता गरी विशेष लाभ सुरक्षित गर्न सकेका थिए । उक्त योजनामार्फत ग्राहकहरूले आकर्षक साटासाट सुविधा, २४ महिनासम्मको सहज किस्ता विकल्प तथा उपहारहरू प्राप्त गर्ने अवसर पाएका थिए ।
ग्यालेक्सी एस २६ सिरिज देशभरका अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ । साथै हुलास फिनसर्भ प्रा.लि.मार्फत ‘इन्स्टा फाइनान्स’ सुविधा प्रयोग गरी सहज मासिक किस्तामा समेत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।








