काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ मा हुने मतदानका दिन आन्तरिक तर्फको हवाई उडान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
निर्वाचन आयोगले हवाई उडान नरोक्ने गरी आचारसंहिता जारी गरेका कारण औपचारिक रूपमा उडान बन्द नहुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
तर, पर्याप्त यात्रु नहुने कारण उडान संख्यामा कटौती गर्ने मनस्थितिमा एयरलाइन्स छन् । त्यस दिन आन्तरिक उडानको बुकिङ खासै नभएका कारण अति आवश्यक र उद्धारचाहिँ सुचारु हुने बताए ।
न्यून यात्रुका कारण एयरलाइन्सहरूले सञ्चालन खर्च धान्न नसकेमा उडान सञ्चालन गर्न बाध्य नहुने उनले बताए ।
निर्वाचन आयोगले मतदान हुने दिन बेलुकी ५ बजेसम्मका लागि लामो तथा छोटो दूरीका सवारी साधन चलाउन बन्देज लगाएको छ । तर, हवाई सेवबारे केही उल्लेख गरेको छैन । हवाई सेवाको नियमन र व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्छ ।
अन्तर्राष्ट्रिय उडान पनि निर्वाचनका कारण बन्द नहुने, तर यात्रु तथा अन्य मुलुकको हवाई सुरक्षाका कारण नियमित नहुने सम्भावना रहेको उनले बताए ।








