काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनाका लागि आफ्ना प्रतिनिधिहरू खटाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालयले एक पत्र जारी गर्दै सबै जिल्ला कार्यसमिति र १६५ वटै निर्वाचन क्षेत्रीय कार्यसमितिलाई यस्तो निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा देशका १६५ वटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु हुन लागेको सन्दर्भमा आ–आफ्नो निर्वाचन क्षेत्रमा मतगणना प्रतिनिधिहरूको आवश्यक व्यवस्था गर्न भनिएको छ।

साथै, खटाइने प्रतिनिधिहरूको नामावली चाँडोभन्दा चाँडो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, ‘आ–आफ्नो निर्वाचन क्षेत्रमा मतगणना स्थलमा मतगणना प्रतिनिधिहरूको व्यवस्था गरी उहाँहरूको नामावली चाँडो भन्दा चाँडो केन्द्रमा पठाइदिनु हुन निर्देशनुसार अनुरोध गरिन्छ ।’