धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिह्न घन्टीमा उल्लेख्य मत परेको देखिएको छ । जारी मतगणनामा उनी नै सबैभन्दा अगाडि देखिएका छन् ।
निर्वाचन आयोगले बैंकको कालोसूचीमा रहेको आधारमा १८ फागुनमा साहको उम्मेदवारी खारेज गरेको थियो । तथापि, आयोगको सो निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । तर, उक्ता मुद्दा विचाराधिन अवस्थामा रहेका बेला यता निर्वाचन क्षेत्रमा साह उम्मेदवार रहेको पार्टी रास्वपाको चुनाव चिह्न घन्टीमा भने भोटको वर्षा भएको छ ।
आयोगको निर्णयअनुसार घन्टीमा परेको मतपत्रहरू गणना गरेर छुट्टै अभिलेखमा राखिने र बाँकी रहेका अन्य उम्मेदवारहरुका चुनाव चिह्न मध्ये सबभन्दा बढी मत ल्याउने लाई विजयी घोषणा गर्न निर्देशन दिएको छ । सोही अनुसार निर्वाचन अधिकृत कार्यालयले अन्य उम्मेदवारहरुले पाएको मत औपचारिक रूपमा सार्वजनिक गरेपनि घन्टी चिह्नको मत सार्वजनिक गरेको छैन ।जानकारी अनुसार हालसम्मको गणनाअनुसार साहले २३ हजार ३२ मत प्राप्त गरेका छन् ।
यो निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका प्रसाद यादवले ७ हजार २१२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रामपल्टन साहले ७ हजार २३ मत प्राप्त गरेका छन् । उम्मेदवारी नै खारेज भइसकेका उम्मेदवारको चुनाव चिह्नमा सबैभन्दा बढी मत खस्नुले उक्त क्षेत्रमा रास्वपा र पार्टीको चुनाव चिह्नप्रति मतदाताको आकर्षण देखिएको स्थानीयहरू बताउँछन् ।
केही मतदाताहरूले भने रास्वपाका वरिष्ठ नेता बालेन साहप्रतिको लोकप्रियताका कारण पनि घन्टी चिह्नमा मत खसेको प्रतिक्रिया दिएका छन् । बालेन साह प्रधानमन्त्री बन्ने अपेक्षासहित मत दिएको उनीहरूको भनाइ छ ।








