काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका उमेदवार नैनसिंह महरले निर्वाचनमा खटिने म्यादी (निर्वाचन) प्रहरीलाई बिदाइपछि सीप र उद्यमशीलतासँग जोड्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै नेता महरले निर्वाचनपछि युवालाई खाली हात घर फर्काउने प्रवृत्तिको अन्त्य गर्न सुदृढ राष्ट्रिय नीति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

आवधिक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका अतुलनीय रहे पनि निर्वाचनको भोलिपल्टै उनीहरू बेरोजगार बन्नुपर्ने बाध्यता रहेको उनले औँल्याएका छन् ।

“राष्ट्रलाई आवश्यक पर्दा सुरक्षाको जिम्मेवारी बोक्ने ती युवाहरू निर्वाचनको भोलिपल्टै बेरोजगार भई रित्तो हात घर फर्किनुपर्ने र अन्ततः वैदेशिक रोजगारीको अँध्यारो सुरुङमा भासिनुपर्ने विडम्बनापूर्ण यथार्थ हाम्रोसामु छ,” पत्रमा भनिएको छ ।

राज्यले युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुको सट्टा उनीहरूको बिदाइलाई ‘बेरोजगारीको सुरुआत’ नभई ‘उद्यमशीलताको प्रस्थानविन्दु’ बनाउनुपर्ने महरको भनाइ छ । यसका लागि युवाहरूको रुचि र स्थानीय सम्भाव्यताका आधारमा आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप र घरेलु उद्योगजस्ता तालिम दिनुपर्ने र उद्यमका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने उनले बताएका छन् । नेता महरले गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा ‘निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम’ तत्काल मन्त्रिपरिषद्बाट पारित गरी देशव्यापी रूपमा लागु गर्न जोडदार माग गरेका छन् ।