धनकुटा : साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित भेडेटार–रवि–राँके निर्माणाधीन सडकखण्डअन्तर्गत भेडेटार–थुम्की–लबडाँडा क्षेत्रमा अवरुद्ध सडक झण्डै ६ दिनपछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

निर्माणाधीन सडकखण्डमा गत फागुन २९ गते बिहान करिब ९:३० बजे माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । त्यसपछि परेको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहँदा सडक माटोले पुरिएको थियो ।

सडकमा थुप्रिएको माटो हटाउन कठिनाइ भएपछि लामो समयसम्म आवागमन प्रभावित बनेको थियो । हाल सडक सञ्चालनमा आए पनि जोखिम भने अझै कायम रहेको छ। इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख इन्स्पेक्टर महेश भट्टराईका अनुसार सुख्खा पहिरो खस्ने सम्भावना अझै रहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ ।

अवरोध हटाउन निर्माण कम्पनी एपीसीओ इन्फ्राटेक प्रालि (APCO Infratech Pvt. Ltd.) र नेपाल प्रहरीको सहकार्यमा पटक–पटक प्रयास गरिएको थियो । सडक सञ्चालनमा आएसँगै उक्त क्षेत्रमा आवतजावत पुनः सहज भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।